बेलबारीः अन्तर्राष्ट्रिय स्तरको कराते प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गर्दै उपाधि जित्न सफल शिक्षा सन्देश इङ्लिस स्कुल बेलबारीका विद्यार्थी सयल थापालाई विद्यालयले सम्मान गरेको छ ।
सो स्कुलमा कक्षा ९ मा अध्ययनरत थापाले हालै सम्पन्न ‘मेयर कप २०२६ नेपाल, १२ औँ अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप’ मा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल हुनुभएको थियो थापाले उपाधिसँगै नगद ८१ हजार रुपैयाँ पुरस्कार जित्नुभएको थियो ।
झापाको मेचीनगरस्थित काँकरभिट्टामा आयोजित उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगिता नेपालसहित भारत, बंगलादेश, माल्दिभ्स, भुटान, श्रीलंका र पाकिस्तानका खेलकुद संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । दक्षिण एसियाका विभिन्न देशका खेलाडीहरूबीच भएको प्रतिस्पर्धामा उपाधि जित्नु सयलका लागि मात्र नभई नेपाली कराते खेलकै लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
सम्मान कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजेश खत्रीले सयलको सफलताले सम्पूर्ण विद्यालय परिवारलाई गर्वान्वित बनाएको बताउनुभयो । विद्यालयले खेलकुद, शिक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई निरन्तर प्रोत्साहन गर्दै आएको जनाउँदै प्रिन्सिपल खत्रीले यस्ता उपलब्धिले अन्य विद्यार्थीहरूलाई पनि आफ्नो प्रतिभा उजागर गर्न प्रेरणा मिल्ने बताउनुभयो ।

















