विराटचोकः खेर जाने मकैको खोस्टालाई आकर्षक तथा उपयोगी हस्तकला सामग्रीमा रूपान्तरण गर्ने उद्देश्यले सुन्दरहरैंचा नगरपालिकाले सञ्चालन गरेको १५ दिने सीपमूलक तालिम सम्पन्न भएको छ ।
नगरपालिकाको आयोजनामा सञ्चालित मकैको खोस्टाबाट सौन्दर्य सामग्री तथा लेडिज पर्स र ब्याग बनाउने तालिम असार ३ गते सम्पन्न भएको हो । तालिममा नगरका १५ जना महिलाको सहभागिता रहेको थियो ।
तालिममा सहभागी महिलाहरूलाई उर्लाबारीस्थित नरमाया हस्तकला उद्योगकी प्रशिक्षक नरमाया दंगालले प्रशिक्षण दिनुभएको थियो । सहभागी महिलाहरूले अत्यन्त उत्साह र जिज्ञासाका साथ तालिममा सहभागिता जनाएको बताउँदै प्रशिक्षक दंगालले सीपलाई निरन्तर अभ्यासमा उतारे राम्रो आम्दानीको स्रोत बन्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
समापन समारोहमा सभाध्यक्ष तथा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले महिलाको आर्थिक सशक्तीकरणका लागि यस्ता सीपमूलक तालिमलाई आगामी दिनमा अझ प्राथमिकताका साथ सञ्चालन गरिने बताउनुभयो । उहाँले तालिमबाट प्राप्त सीपलाई उद्यममा रूपान्तरण गर्न इच्छुक महिलाहरूलाई हस्तकला उद्योग स्थापना गर्न प्रेरित गरिने तथा नगरपालिकाले आवश्यक आर्थिक सहयोगसमेत उपलब्ध गराउने जानकारी दिनुभयो ।
उपप्रमुख चौधरीले स्थानीय स्तरमै उत्पादन भएका हस्तकला सामग्रीको बजार सुनिश्चित गर्न नगरपालिकाले आवश्यक समन्वय गर्ने र सम्भव भएसम्म निर्मित सामग्री खरीद गर्ने नीति समेत अवलम्बन गरिने बताउनुभयो ।
तालिममा सहभागी प्रशिक्षार्थी स्मिता उप्रेतीले मकैको खोस्टाजस्तो सामान्य र खेर जाने वस्तुबाट यति आकर्षक तथा उपयोगी सामग्री निर्माण गर्न सकिन्छ भन्ने आफूले कल्पनासमेत नगरेको बताउनुभयो । तालिमले नयाँ सीपसँगै आत्मविश्वास पनि बढाएको उहाँको भनाइ थियो।
तालिमका क्रममा सहभागीहरूलाई मकैको खोस्टाबाट लेडिज पर्स, ब्याग, जुत्ता, बुकेलगायत विभिन्न सजावटका तथा उपयोगी सामग्री निर्माण गर्ने विधिबारे सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको थियो । वातावरणमैत्री र स्थानीय स्रोतमा आधारित यस्ता उत्पादनले स्वरोजगार तथा उद्यमशीलताको सम्भावना बढाउने विश्वास व्यक्त गरिएको छ ।
तालिमको अर्को विशेष आकर्षण समापन समारोहमा देखिएको थियो । समारोहमा उपस्थित अतिथि तथा सहभागीहरूलाई मकैको खोस्टाबाट नै निर्माण गरिएका आकर्षक ब्याच लगाएर स्वागत गरिएको थियो, जसले तालिमबाट सिकाइएका सीपको प्रत्यक्ष प्रदर्शनसमेत गरेको थियो ।
कार्यक्रमको सञ्चालन सुन्दरहरैंचा नगरपालिकाको उद्योग, सहकारी तथा रोजगार प्रवद्र्धन उपशाखा तथा लैङ्गिक समानता एवं सामाजिक समावेशीकरण शाखाकी प्रमुख सावित्री खड्काले गर्नुभएको थियो ।
स्थानीय स्रोत र सामग्रीको सदुपयोग गर्दै महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सञ्चालन गरिएको यो तालिमले सहभागीहरूलाई नयाँ सीप मात्र होइन, उद्यमशीलताको सम्भावित ढोका पनि खोलिदिएको सहभागीहरूले बताएका थिए ।


















