इटहरी । नेपालमा इन्टरनेट सेवाका प्रयोगकर्ताको सङ्ख्या साढे ४ करोड नाघेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले जेठ २०८३ मा सार्वजनिक गरेको ‘दूरसञ्चार सूचकहरू (वैशाख २०८३)’ सम्बन्धी प्रतिवेदन अनुसार नेपालको कुल जनसङ्ख्याको तुलनामा ब्रोडब्यान्डको पहुँच बढी छ ।
सो प्रतिवेदन अनुसार २०८३ बैशाख मसान्तसम्म नेपालमा कुल ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या ४ करोड ५२ लाख १९ हजार ९६ जना पुगेको छ । यस्तै, भ्वाइस टेलिफोनी (टेलिफोन तथा मोबाइल) सेवाका कुल सक्रिय ग्राहकको सङ्ख्या ३ करोड २ लाख ४८ हजार ९ सय ५८ पुगेको छ । जुन नेपालको कुल जनसङ्ख्याको १०३.७१ प्रतिशत हो ।
दूरसञ्चार प्राधिकरणको प्रतिवेदन अनुसार मोबाइल र फिक्स्ड टेलिफोन सेवा (भ्वाइस टेलिफोनी) मा सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को बजार हिस्सा ५३.५८ प्रतिशत पुगेको छ । नेपाल टेलिकमका कुल ग्राहकको सङ्ख्या १ करोड ६२ लाख ८ हजार ४ सय ७४ रहेको छ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल कम्पनी लिमिटेड ४६.४१ प्रतिशत बजार हिस्सासहित दोस्रो स्थानमा छ । बैशाख मसान्तसम्म एनसेलका कुल मोबाइल ग्राहक १ करोड ४० लाख ३९ हजार ३ सय २ पुगेका छन् ।
अन्य साना सेवा प्रदायकहरूको बजार हिस्सा भने केवल ०.००४ प्रतिशत (१ हजार १ सय ८२ ग्राहक) मात्र रहेको छ ।
नियमित इन्टरनेट सेवा प्रदायकहरूमध्ये फिक्स्ड ब्रोडब्यान्ड (फाइबर) बजारमा वर्ल्ड लिंक कम्युनिकेशन्स लिमिटेड ३०.९३ प्रतिशत बजार हिस्सासहित पहिलो स्थानमा कायमै छ । वर्ल्ड लिंकका कुल ग्राहकको सङ्ख्या १० लाख ७८ हजार ७ सय ९ पुगेको छ ।
१०.९८ प्रतिशत हिस्सा (३ लाख ८३ हजार १०१ ग्राहक) सहित नेपाल टेलिकम दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको डिस मिडिया नेटवर्क (डिश होम) को बजार हिस्सा १०.५९ प्रतिशत (३ लाख ६९ हजार २१८ ग्राहक) छ ।
१०.४१ प्रतिशत बजार हिस्सा (३ लाख ६३ हजार ७ ग्राहक) सहित भायानेट कम्युनिकेशन्स चौथो स्थानमा र ८.२३ प्रतिशत हिस्सा (२ लाख ८६ हजार ९५३ ग्राहक) सहित क्लासिक टेक पाँचौँ स्थानमा रहेका छन् ।
प्रमुख १० इन्टरनेट सेवा प्रदायकहरूको बजार हिस्सा
१. वर्ल्ड लिंक कम्युनिकेशन्सः १०,७८,७०९ (३०.९३%)
२. नेपाल टेलिकमः ३,८३,१०१ (१०.९८%)
३. डिश मिडिया नेटवर्कः ३,६९,२१८ (१०.५९%)
४. भायानेट कम्युनिकेशन्सः ३,६३,०३७ (१०.४१%)
५. क्लासिक टेकः २,८६,९५३ (८.२३%)
६. सुबिसु केबलनेटः २,६४,८४९ (७.५९%)
७. वेबसर्फर नेपालः १,७३,४६२ (४.९७%)
८. टेकमाइन्ड्स नेटवर्कः १,१७,०७८ (३.३६%)
९. वाइफाई नेपालः १,११,४६४ (३.२०%)
१०. सीजी कम्युनिकेशन्सः ९०,२०६ (२.५९%)
२०८३ बैशाख मसान्तसम्ममा


















