विराटचोक।  सुन्दरहरैंचा नगरपालिकाका कक्षा ७ देखि १० सम्मका विद्यार्थीसँग अन्तरक्रिया गर्दै छात्रासँग उपमेयर कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थीलाई स्थानीय सरकारसँग प्रत्यक्ष जोड्दै नेतृत्व विकास, नागरिक चेतना र उत्तरदायित्वबोध अभिवृद्धि गर्नुका साथै विद्यालयभित्र छात्राहरूले भोग्न सक्ने हिंसा र दुव्र्यवहारविरुद्ध सचेतना फैलाउने उद्देश्यले सुन्दरहरैंचा नगरपालिकाले कार्यक्रम गरेको उपप्रमुख अकली चौधरी बताउनुहुन्छ ।

कार्यक्रममा उपप्रमुख चौधरीले विद्यार्थीसँग खुला संवाद गर्दै गुणस्तरीय शिक्षा, अनुशासन, नेतृत्व विकास, स्थानीय सरकारको दायित्व तथा जिम्मेवार नागरिकको भूमिकाबारे प्रेरणादायी धारणा व्यक्त गर्नुभएको थियो । उहाँले विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नहुने उल्लेख गर्दै नैतिक मूल्य, सामाजिक उत्तरदायित्व, लैङ्गिक समानता र नेतृत्व विकासलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । विद्यालयमा छात्राले हिंसा, दुव्र्यवहार, मानसिक दबाब, विभेद वा यौनजन्य दुर्व्यवहारजस्ता समस्या भोग्नुपरे त्यसलाई लुकाएर नराखी सम्बन्धित शिक्षक, अभिभावक वा स्थानीय सरकारलाई जानकारी गराउन उहाँको आग्रह थियो ।

अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले शिक्षा, स्थानीय सरकारका सेवा, विकास निर्माण, युवाको सहभागिता, विद्यालयको सिकाइ वातावरण तथा आफ्ना जिज्ञासा र सुझाव खुला रूपमा राखेका थिए । ती जिज्ञासाको उपप्रमुख चौधरीले जवाफ दिनुभएको थियो ।