इटहरी। चार दशकअघि स्थानीयले भैँसी चराउने र पानी खुवाउने ठाउँका रूपमा चिनिएको इलामको अन्तु पोखरी आज पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य बनेको छ।
विसं २०४० सम्म सुनसान चरन क्षेत्र रहेको अन्तु पोखरीमा अहिले दैनिक आठ सयदेखि दुई हजारसम्म पर्यटक पुग्ने गरेका छन्। डुङ्गा सयर, सूर्योदय अवलोकन, होमस्टे, कटेज, चियाबारीको दृश्य र प्राकृतिक वातावरणका कारण अन्तु आन्तरिक तथा भारतीय पर्यटकको रोजाइमा परेको हो।
होटल, होमस्टे र डुङ्गा सयरले स्थानीयको आम्दानी र रोजगारी दुवै बढाएको छ, अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले भने।
उनका अनुसार स्थानीयको पहलबाट सुरु भएको संरक्षण अभियानलाई पछिल्ला वर्षमा स्थानीय सरकारले पूर्वाधार विकाससँग जोडेको छ। पोखरीको सौन्दर्यीकरण, पदमार्ग, सडक, बत्ती, भ्यू टावर र पर्यटकीय संरचना निर्माणमा करोडौँ रुपैयाँ लगानी गरिएपछि अन्तुको स्वरूप नै फेरिएको छ।
अहिले अन्तुमा होटल, कटेज र होमस्टेसहित करिब १६० वटा पर्यटकीय आवास सञ्चालनमा छन् भने तीन सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। पर्यटकका लागि डुङ्गा सयर, घोडचढी, सिजनल फिसिङ र अन्तुडाँडाबाट सूर्योदय अवलोकन मुख्य आकर्षण बनेका छन्।
सूर्योदय नगरपालिकाका अनुसार पर्यटन नै स्थानीय अर्थतन्त्रको प्रमुख आधार बन्दै गएको छ। कोशी प्रदेश सरकारले प्रदेशलाई पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गरिरहेका बेला अन्तु पोखरी ग्रामीण पर्यटनको सफल उदाहरणका रूपमा स्थापित भएको छ।
खासगरी विसं २०६० को दशकमा तत्कालीन सभामुख सुवासचन्द्र नेम्बाङले परेवा उडाएर पोखरीमा डुङ्गा सञ्चालन सुरु गरेका थिए। त्यति बेला डुङ्गा समितिले सञ्चालन गरेको थियो। अहिले नगरपालिकाले लगानी बढाएर पालिका मातहत सञ्चालन गर्छ। हाल डुङ्गाबाटसमेत राम्रो आम्दानी भइरहेको बताइन्छ। कोशी प्रदेश सरकारले भ्रमण वर्ष मनाइरहेका बेला अन्तु क्षेत्रमा थप पर्यटकीय पूर्वाधार, पार्किङ, पदमार्ग र स्तरीय आवास विस्तार गर्न सके पर्यटकलाई अझ सहज हुने स्थानीयको भनाइ छ। उनीहरूका अनुसार पूर्वाधार सुदृढसँगै अन्तुमा पर्यटकहरू धेरै दिन बस्न सक्ने आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने पर्याप्त सम्भावना छ।


















