धरानः धरान–१३ मा रहेको लोटस स्कुलले विद्यार्थीलाई भारतको नागाल्याण्ड लगेर भानुजयन्ती मनाउने भएको छ । विद्यार्थीहरुले नागाल्याण्डको मोकोकचुङमा हुने २१२ औँ भानु जयन्तीमा नेपाली कला, संस्कृति र नृत्य प्रस्तुत गर्ने विद्यालयले जनाएको छ ।
विद्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै स्कुलका कोअर्डिनेटर आगनसाङ राईले ८ जना विद्यार्थीले नेपाली कला, सांस्कृतिक भेषभूषा तथा परम्परा झल्किने ५ वटा नृत्य प्रस्तुत गर्ने बताउनुभयो । सहभागी विद्यार्थीहरूको प्रतिभा प्रदर्शनसँगै यो अन्तर्राष्ट्रिय मञ्चमा नेपालको समृद्ध सांस्कृतिक सम्पदा प्रवद्र्धन गर्ने अवसर भएको उहाँले जनाउनुभयो ।
विद्यालयका प्रबन्ध निर्देशक गणेश राईले आफू नागाल्याण्डमै जन्मिएर हुर्किएको तथा नागाल्याण्डमा तामाङ सेलो र झ्याउरे गीत मात्र सुनेको बताउनुभयो । नेपाल आएपछि मात्रै साकेला, कौरालगायतका जातीय संस्कृति बारे जानकारी पाएको उहाँले बताउनुभयो ।


















