दुलारीः मोरङको सुन्दररहरैंचा–६ दुलारीमा रहेको साजीलाल माध्यमिक विद्यालयको अध्यक्ष पदमा चिरञ्जीवी रेग्मी चयन हुनुभएको छ ।

विद्यालय व्यवस्थापन समिति गठनका लागि २०८३ जेठ २४ गते भएको अभिभावक भेलाले सर्वसम्मत प्रतिनिधि छनोट गर्न सकेको थिएन । त्यसपछि लोकतान्त्रिक विधिबाट निर्वाचन हुनुपर्ने माग उठेको थियो । तर, विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले निर्वाचन गर्न नसकिने र सहमतिमै प्रतिनिधि छान्नुपर्ने अडान लिँदै आउनुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा दाबी गरिरहेकामध्ये केही अभिभावकले असार २० गते आफ्नो दाबी छोडेका थिए । त्यसपछि चुनिएका प्रतिनिधिले असार २६ गते रेग्मीलाई विद्यालय व्यवस्थापन समिति अध्यक्षमा समर्थन गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिमा ४ जना अभिभावक (एक जना अध्यक्ष, ३ जना सदस्य) रहने व्यवस्था छ । विद्यालयका प्रधानाध्यापक सदस्य सचिव रहने व्यवस्था छ ।

सो विद्यालयको व्यवस्थापन समितिमा दुष्यान्त भट्टराई, आशा पेस्कर र देवी पराजुली मगर सदस्य चयन हुनुभएको छ ।