काठमाडौंः सौर्यमण्डल बाहिर पनि पृथ्वीजस्तो चट्टानी ग्रह वरपरको वातावरण अनुसन्धानकर्ताहरुले पहिलो पटक पत्ता लगाएका छन् । अनुसन्धानकर्ताहरूका अनुसार यो खोजले सौर्यमण्डल बाहिर पनि पृथ्वीजस्तै वातावरणीय अवस्था भएका ग्रह हुन सक्ने सम्भावनालाई अहिलेसम्मकै सबैभन्दा बलियो प्रमाण दिएको छ ।

यस ग्रहको वायुमण्डलमा हिलियम ग्यास फेला परेको छ । हिलियम आफैँमा जीवनका लागि उपयुक्त मानिँदैन । तर, वैज्ञानिकहरुको विश्वास छ कि त्यहाँ अन्य ग्यासहरु पनि हुन सक्छन् । अध्ययनका प्रमुख लेखक हार्वर्ड विश्वविद्यालयका डा.कोलिन चेरुबिमले यो खोजलाई ठूलो उपलब्धि भनेका छन् ।

एलएचएस ११४० बी नाम दिइएको यो ग्रह पृथ्वीबाट ४८ प्रकाश वर्ष टाढा छ । यसले सूर्यभन्दा निकै सानो र चिसो रातो तारालाई परिक्रमा गर्छ । अहिलेसम्म वैज्ञानिकहरूले टाढाको ताराहरूलाई परिक्रमा गर्ने ६ हजारभन्दा बढी ग्रहहरू पत्ता लगाइसकेका छन् ।

साइन्स जर्नलमा प्रकाशित यो अनुसन्धानका लेखकले अहिलेसम्म कुनै अन्य ग्रहमा जीवन पत्ता नलागेको प्रष्ट भनेका छन् । ग्रहमा जीवन बिताउने सम्भावनाका लागि पानी हुनुपर्ने र पानी अस्तित्वमा रहन ग्रह आफ्नो ताराबाट सही दूरीमा हुनुपर्ने उनको भनाइ छ ।

अनुसन्धाताहरूका अनुसार कुनै ग्रहमा जीवनको सम्भावना हुन पानीको उपस्थिति आवश्यक हुन्छ । पानी रहन ग्रह आफ्नो ताराबाट न धेरै नजिक र न धेरै टाढा हुनुपर्छ ।

खगोल विज्ञानका विज्ञहरूले यसलाई गोल्डीलक्स जोन भनेका छन् । यसको नाम गोल्डीलक्स नामकी एक लोककथात्मक केटीको नामबाट राखिएको हो, जो आफ्नो दलियाको तापक्रम ठीक होस् भन्ने चाहन्थिन् । अहिलेसम्म वैज्ञानिकहरूले गोल्डीलक्स जोनमा रहेका सयौँ ग्रहहरु पत्ता लगाउँदा तीमध्ये केही दर्जन मात्र पृथ्वीजत्तिकै साना र चट्टानी ग्रह पत्ता लगाएका छन् । यस्ता ग्रहमा जीवनको सम्भावना हुन सक्ने यो महत्त्वपूर्ण संकेत पनि मानिन्छ । तर, अहिलेसम्म यी कुनै पनि ग्रहमा वायुमण्डल फेला परेको थिएन ।

अहिलेसम्म सो ग्रहको वायुमण्डलमा हिलियम ग्यास मात्र फेला परेको छ । यो माथिल्लो वायुमण्डलमा अवस्थित हुन सक्ने वैज्ञानिकहरूको भनाइ छ ।