गछियाः माउण्ट मकालु बोर्डिङ स्कुल सुन्दरहरैंचामा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको टोली ‘टिम क्रान्तिकारी’ले मानिसजस्तै हिँड्न, अभिवादन गर्न तथा विभिन्न भावनात्मक अभिव्यक्ति दिन सक्ने ह्युमानोइड रोबोट ‘सोलारिस नोभा’ निर्माण गरेको छ ।
विद्यालयका अनुसार रोबोटिक्सको क्षेत्रमा सक्रिय रहँदै आएको टोलीले वास्तविक जीवनमा देखिएका समस्या तथा आवश्यकतालाई आधार बनाएर विभिन्न नवीन परियोजना अघि बढाउने गरेको छ । विद्यार्थीहरूले प्रविधि, कोडिङ तथा सिर्जनशीलतालाई प्रयोग गर्दै नयाँ–नयाँ रोबोटिक परियोजनामा काम गरिरहेका छन् ।
विद्यार्थीले बनाएको सो ‘सोलारिस नोभा’को मुख्य विशेषता भनेको त्यसको ‘डुअल ब्रेन’ प्रणाली हो । यस प्रणालीले रोबोटका विभिन्न कार्यलाई समन्वय गर्न सहयोग गर्ने टोलीले जनाएको छ । रोबोटले हिँड्नुका साथै अभिवादन गर्न र खुसी, उत्साहित तथा रिसाएको जस्ता भावनात्मक अवस्थालाई विभिन्न अभिव्यक्तिमार्फत् देखाउन सक्छ ।
‘टिम क्रान्तिकारी’ कोशी यन्त्र, स्टिम प्रतियोगितालगायत विभिन्न रोबोटिक्स तथा विज्ञानसम्बन्धी कार्यक्रममा सक्रिय रूपमा सहभागी हुँदै आएको छ ।
टिम क्रान्तिकारीका सदस्यहरूमा पाल्देन मोक्तान, सिद्धान्त थापा, दिग्यन्ता गुरागाईं, भिजन सुवेदी, डिक्सन कार्की र सौगात गौतम रहेका छन्।
‘सोलारिस नोभा’ निर्माणमा पाल्देन मोक्तान, सिद्धान्त थापा, सौगात गौतम र भिजन सुवेदी प्रत्यक्ष रूपमा संलग्न रहेका थिए ।
टोलीले यसअघि नेपाल प्रिमियर लिग (एनपीएल)को समयमा आफ्नो मनपर्ने टोली विराटनगर किङ्सलाई समर्थन गर्ने उद्देश्यले ‘विराटनगर किङ्स थिम रोबोट’समेत निर्माण गरेको थियो ।


















