काठमाडौंः कलाकार सीताराम कट्टेल (धुर्मुस) अमेरिका फर्किएका छन् । उनले नेपाल बसाइको दुई महिनामा अथक प्रयास गर्दा पनि चितवनकोे रंगशालालाई विनियोजित बजेट फ्रिज पारिएको तर ऋणमुक्त हुन नसकिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखदै उनले आशा भने जीवितै रहेको बताएका छन् ।

‘यो पटक त शतप्रतिशत न्याय पाउनेछौँ, आफ्नै माटोमा दुःख–सुख साट्नेछौँ र पहिलेजस्तै फेरि हजुरहरूलाई हँसाउनेछौँ भन्ने ठूलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिएँ,’ उनले लेखेका छन्, ‘दुई महिना अथक प्रयास गरेँ, राज्यका ढोका–ढोका पुगेँ, न्यायको आशामा राज्यलाई गुहारेँ, तर न राज्यले आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने अवसर नै पाएँ । समस्या समाधान हुने त कुरै भएन, उल्टै १५ करोड विनियोजित बजेटसमेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आयो ।’

उनले १८ करोड ४३ लाख रुपैयाँको भारी, अधुरा सपना र मनभरिको पीडा बोकेर आफ्नै मातृभूमि छोड्न बाध्य भएको बताएका छन् ।

‘आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको छ,’ उनले भनेका छन्, ‘देशमा इमानदारीका साथ केही गरौँ, आफ्नै माटोलाई केही दिऔँ भन्ने सपना देख्नेहरूको नियति शायद यस्तै हुँदो रहेछ ।’

लेखेका छन्, ‘मन निकै भारी भएको छ, ओठ काँपेका छन्, आँखा रसाएका छन्, तर हृदयको कुनै कुनामा आसा अझै बाँकी छ, कुनै दिन राज्यले सम्झिनेछ, समयले सत्य बोल्नेछ ।’

आफ्नो पीडा सुनिने, संघर्षको मूल्य बुझिने र देशभक्ति भावनाको कदर हुने आशा जीवितै राख्दै भनेका छन्, ‘त्यो दिन आफ्नै देशमा न्याय खोज्नेहरूको आवाज दबिनुपर्ने छैन, त्यही दिनको पर्खाइमा हामी रहनेछौँ, चाँडै फेरि हजुरहरूसँग भेट हुनेछ, मुटुभरिको माया र सम्मान हजुरहरू सबैलाई ।’

उनले १० वर्ष आफ्नो उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहन भनेर कटाक्ष गरेका छन् ।