विराटचोकः यमबुद्ध फाउण्डेसनले स्वर्गीय गायक अनिल अधिकारी (यमबुद्ध) को स्मृतिमा सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचा मोरङमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ ।
फाउण्डेसनले ‘यमबुद्ध छात्रवृत्ति अक्षयकोष, सुकुना बहुमुखी क्याम्पस’ का लागि १० लाख प्रदान गरेको हो । फाउण्डेसनका अध्यक्ष अम्बिकाप्रसाद अधिकारी र कोषाध्यक्ष उर्मिला अधिकारीले बिहीबार आयोजित एक समारोहबीच क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापा र क्याम्पस प्रमुख अर्जुनराज अधिकारीलाई बैंक चेक हस्तान्तरण गर्नुभएको हो ।
२०८२ साल माघ १ गते सुकुना बहुमुखी क्याम्पसमा यमबुद्ध ट्रिब्युट कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रमका संयोजक योगेश दाहाल, सहसंयोजक रोहन खत्री (डियर काले) तथा सदस्यहरू सुयोग भण्डारी, ओमकुमार विश्वकर्मा, डेनिस श्रेष्ठ, निकेश आचार्यलगायत रहेका थिए ।
यमबुद्ध ट्रिब्युट कार्यक्रमका सहसंयोजक रोहन खत्रीले कार्यक्रमको उद्देश्य र महत्वबारे जानकारी दिँदै छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि आवश्यक संयोजन गरेका थिए । फाउण्डेसन तथा कार्यक्रम आयोजक समितिका अनुसार अक्षयकोषलाई आगामी दिनमा क्रमशः वृद्धि गर्दै लैजाने नीति रहेको छ । कोषबाट प्राप्त हुने रकमले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापा र क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि यमबुद्ध फाउण्डेसन र ट्रिब्युट कार्यक्रम आयोजक समितिप्रति धन्यवाद ज्ञापन गरेका थिए ।


















