केराबारीः कतिपय पुस्तकालयमा पुस्तक नपाइने वा पाठक नजाने समस्या भए पनि मोरङको केराबारीमा रहेको राष्ट्रिय पुस्तकालयमा भने त्यस्तो समस्याका बाबजुद पनि पुस्तकालय सञ्चालनमा रहेको छ ।

२०२४ सालमा स्थापना भएको सो पुस्तकालयमा हाल ७ हजार भन्दा बढी पुस्तक रहेको पुस्तकालयका अध्यक्ष महाप्रसाद लुइँटेल बताउनुहुन्छ । पुस्तकालय सञ्चालनका लागि एक जना कर्मचारी हुनुहुन्छ । कर्मचारीको खर्च गाउँपालिकाले बेहोर्ने गरेको छ ।

केराबारीका विद्यालयमा रहेका पुस्तकालयलाई समेत व्यवस्थित बनाउन नगरपालिकाले हालै तालिम सञ्चालन गरेको थियो । तालिमपछि पुस्तकालयमा नयाँ विधिअनुसार पुस्तक राख्ने तथा लेखकका पुस्तकको अभिलेखीकरण गर्ने कार्य शुरु गरिएको छ ।

सो पुस्तकालयमा नियमित अध्ययन गर्न आउने अङ्कित शाहले घरमा भन्दा पुस्तकालयमा आएर अध्ययन गर्दा पढाइमा बढी ध्यान केन्द्रित हुने बताउनुभयो ।
राष्ट्रिय पुस्तकालयले पुस्तक पढ्न लैजाने पाठकका लागि फरक किसिमको अभ्याससमेत गर्दै आएको छ । पाठकले पुस्तकको रकम तिरेर पुस्तक घर लैजान पाउने र पढिसकेपछि पुस्तकालयमा फिर्ता गरेमा तिरेको रकमसमेत फिर्ता गर्ने व्यवस्था गरेको छ ।