इटहरीः बालबालिकामा लुकेर रहेको प्रतिभा, सौन्दर्य र बौद्धिक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजित ‘जुनियर फेस अफ सुनसरी’ दोस्रो संस्करणको ग्रान्ड फिनाले इटहरीमा सम्पन्न भएको छ ।
दुर्गा पार्टी प्यालेसमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा गल्र्सतर्फ झुम्काकी सान्वी गिरी र ब्वाइजतर्फ इटहरीका नुबाहाङ लिम्बू विजेता घोषित भएका छन् । विजेताले २५, २५ हजार नगद पुरस्कार, अवार्ड र क्राउन सहित अन्य पुरस्कारहरू हात पारेका छन् । प्रतियोगितामा इटहरी, झुम्का, इनरुवा र कालाबञ्जार क्षेत्रका ४२ जना बालबालिकाहरूले फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।
गल्र्सतर्फ इटहरीकी समृद्धि सुवेदी फस्ट रनरअप र झुम्काकी सुप्रिया बस्नेत सेकेन्ड रनरअप बन्न सफल भएका छन् । ब्वाइजतर्फ इटहरीका पुकार पौडेल फस्ट रनरअप र कालाबञ्जारका सोयल राई सेकेन्ड रनरअप घोषित भए ।
फस्र्ट रनरअपहरुले जनही १५ हजार र सेकेन्ड रनरअपहरुले जनही १० हजार नगद पुरस्कार सहित क्राउन, ट्रफी र अन्य पुरस्कारहरु हात पारे ।
ग्रान्ड फिनालेमा दिनेश कोइराला, रोनक अग्रवाल र सेनोरिटा मगरले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
आयोजक संस्था ‘एल एण्ड सी मोडल एजेन्सी प्रा. लि.’ ले यस प्रतियोगितालाई केवल सौन्दर्य प्रतियोगितामा मात्र सीमित नराखी बालबालिकाको सर्वाङ्गीण विकासको पाठशालाको रूपमा प्रस्तुत गरेको जनाएको छ ।


















