विराटनगरः दक्षिण एशियाकै दोस्रो ठूलो मानिने विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रालाई यस वर्ष थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाइने भएको छ ।
पहिलोपटक जीपीएस ट्र्याकिङ प्रणाली प्रयोग गरी रथको वास्तविक अवस्थिति मोबाइलबाटै हेर्न सकिने व्यवस्था मिलाइएको हो । विराटनगरका स्थानीय प्रविधि प्रदायक संस्था ट्र्याकअन जीपीएस र मल्टिप्लेक्स इन्फो सिस्टमको संयुक्त सहकार्यमा रथमा जीपीएस प्रणाली जडान गरिने जनाइएको छ ।
सो प्रविधि जडान भएपछि रथयात्राका क्रममा रथको वास्तविक स्थान ‘रियल टाइम’मै पहिचान गर्न सकिनेछ । सर्वसाधारण श्रद्धालु तथा भक्तजनका लागि विशेष ‘लाइभ लोकेसन लिंक’ उपलब्ध गराइनेछ, जसबाट मोबाइल वा कम्प्युटरमार्फत् रथ कहाँ पुगेको छ भन्ने जानकारी हुनेछ ।
लाखौँ भक्तजनको सहभागिता रहने रथयात्रामा जीपीएस प्रविधिको प्रयोगले सुरक्षा निकाय तथा आयोजकलाई भीड व्यवस्थापन र समन्वयमा समेत सहजता पुग्ने अपेक्षा गरिएको छ ।
आपतकालीन अवस्था सिर्जना भएमा सुरक्षा तथा उद्धार टोलीलाई रथको सही स्थान पहिचान गरी तत्काल परिचालन गर्न सकिने र टाढाबाट आउने भक्तजनले समेत रथको अवस्थिति हेरेर आफ्नो समय व्यवस्थापन गरी दर्शन गर्न सहज हुने जनाइएको छ ।
















