सलकपुरः मोरङको सुन्दरहरैंचा–६ सलकपुरस्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुलमा सुन्दरहरैंचा स्थानीय स्काउटको आयोजनामा तीन दिने ‘दल नायक तालिम’ सञ्चालन भइरहेको छ । भदौ १९ गतेदेखि सुरु भएको तालिम आज सम्पन्न हुनेछ ।

स्काउटमा आबद्व विद्यार्थी तथा युवाहरूलाई अनुशासित, दक्ष र नेतृत्वदायी भूमिकामा स्थापित गराउने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको स्काउट सुन्दरहरैंचाका प्रमुख आयुक्त मनोज कार्कीले बताउनुभयो ।

प्रशिक्षण कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै उहाँले स्काउटिङ अभियानले बालबालिकाको चौतर्फी विकासमा पुर्याउने योगदानबारे चर्चा गर्नुभयो । स्थानीय स्काउटलाई सक्रिय बनाउँदै भोलिका दिनमा समाज परिवर्तनको संवाहकका रूपमा बालकालिकालाई उभ्याउन यो तालिमले कोसेढुङ्गाको काम गर्ने उहाँको भनाइ थियो ।

सो तालिममा सुन्दरहरैंचा क्षेत्रका विभिन्न विद्यालयहरूबाट ७१ जना स्काउट विद्यार्थी सहभागी छन् । विद्यालय तहदेखि नै स्काउटको सिद्धान्त र अनुशासनलाई आत्मसात् गराउन यो कार्यक्रमले ठूलो मञ्च प्रदान गरेको सहभागीहरूले बताएका छन् ।

तालिमलाई अनुशासित, व्यवस्थित र प्रयोगात्मक बनाउनका लागि छात्रतर्फको कोर्स लिडरको भूमिका स्काउट मास्टर बादल देवानले निर्वाह गरिरहनुभएको छ ।

छात्रातर्फको कोर्स लिडरको रूपमा स्काउट मास्टर डेलिना लोहारको नेतृत्वमा छात्राहरूले आत्मरक्षा, नेतृत्व कौशल र सामाजिक उत्तरदायित्वका विषयमा प्रयोगात्मक अभ्यासहरू गरिरहेका छन् ।

विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिन र नेतृत्व क्षमताको विकास लागि आयोजना गरिएको तालिममा किताबी ज्ञानभन्दा बाहिर निस्किएर समाज, अनुशासन र नेतृत्वको व्यावहारिक पाटो बुझाउन स्काउटले यो अभियान चलाएको जनाएको छ ।

तालिम आज समापन हुने आयोजकले जनाएको छ ।