इटहरी  - रसुवा बाढीपीडितको राहत तथा उद्धारका लागि भारतको पश्चिम बङ्गाल राज्यअन्तर्गत कालिम्पोङ गोरुबथान एसोसिएसनले २ लाख ४० हजार ७५० रुपैयाँ सहयोग गरेको छ। सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।बसन्त गुरुङको नेतृत्वमा रहेको एसोसिएसनले भारतको बिर्पाडा, कालिम्पोङ, खर्साङ, निर्मली समाज तथा सिक्किमलगायत विभिन्न स्थानमा रहेका नेपाली समाज तथा संस्थासँग समन्वय गरी उक्त रकम सङ्कलन गरेको हो।

IMG-20260907-WA0005

वि.सं. २०१७ मा स्थापना भएको एसोसिएसनले सङ्कलित रकम रसुवाको बाढीग्रस्त क्षेत्रमा पुगेर पीडितलाई प्रत्यक्ष हस्तान्तरण गर्ने उद्देश्यले बसन्त गुरुङको नेतृत्वमा १० सदस्यीय टोली रसुवा पठाएको थियो। तर, भौगोलिक कठिनाइका कारण टोलीले पीडितसमक्ष प्रत्यक्ष रूपमा सहयोग हस्तान्तरण गर्न नसकेपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको हो।

आइतबार बैंक तथा वित्तीय संस्था बन्द रहेकाले एसोसिएसनले उक्त रकम ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष बज्र सुरज आङदेम्बेलाई हस्तान्तरण गरेको थियो। आङदेम्बेले सोमबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।