इटहरी । सामाजिक सञ्जालमा स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनुभएको छ ।

जेनजी आन्दोलन भएको एक वर्ष पुगेको दिन उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

‘जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको छ– सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन। राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ । त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सकोस् भन्ने अपेक्षा गर्दछु,’ उहाँले लेख्नुभएको छ ।

यस्तो छ उहाँको अभिव्यक्ति जस्ताको तस्तैः
आज भदौ २३ । एक वर्षअघि आजकै दिन देशको इतिहासमा एउटा पीडादायी घटना भएको थियो । नवयुवाहरूले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित सडक र डिजिटल सञ्जालबाट आवाज उठाउँदा त्यो आवाज दबाउने नाममा निर्दोष नवयुवाहरूको ज्यान लिइएको थियो । कयौँ युवाहरूले जीवनभर अपांगताको पीडा बेहोर्नुपर्ने गरी घाइते हुनुपर्यो ।

उक्त घटनामा सहिद भएका सम्पूर्ण योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

त्यस क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भयो । हाम्रा कयौँ राष्ट्रिय सम्पदा र धरोहर गुमे । राष्ट्रको जीवनमा लागेको यो घाउ सायदै कहिल्यै पुरिनेछ । अब त्यस्तो दिन कदापि दोहोरिनुहुँदैन । सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन आ(आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौँ ।

जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको छ( सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन । राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ । त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सकोस् भन्ने अपेक्षा गर्दछु ।

जेनजी आन्दोलनबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै हामी अहिले भोटेकोसी बाढीको अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेका छौँ । यस दुःखद घडीमा हामी अझ बढी धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुनुपर्छ । एकअर्काको सहारा बन्दै, दुःखमा मल्हम लगाउँदै ऐक्यबद्ध भएर विपद्को सामना गरौँ ।