उर्लाबारीः उर्लाबारी–८ निवासी प्रा.डा. इन्द्रबहादुर कार्कीले आफूले अध्ययन गरेको राधिका माध्यमिक विद्यालय उर्लाबारी–६ मा किसान छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ ।
कृषि क्षेत्रमा अध्ययन, अनुसन्धान र विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त रकम अक्षयकोषमा हस्तान्तरण गरिएको हो । प्रा. डा. कार्कीले विद्यालयका प्रधानाध्यापक कुमार पोखरेललाई चेक हस्तान्तरण गर्नुभएको हो ।
विद्यालय र दाताबीच भएको सम्झौताअनुसार अक्षयकोषबाट प्राप्त ब्याजमा कार्की परिवारले वार्षिक २ हजार रुपैयाँ थप गरी छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरिएको छ । बाली विज्ञान विषयमा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने सम्झौतामा उल्लेख छ ।
आफूले अध्ययन गरेको विद्यालयमा कृषि शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले अक्षयकोषमा सहयोग गर्न पाउँदा खुसी लागेको प्रा. डा. कार्कीले बताउनुभएको छ ।


















