काठमाडौ - प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकसँगको विश्वास र साझेदारीलाई प्रहरी कार्यको प्राथमिकतामा राख्दै नागरिकमैत्री प्रहरी सेवामा जोड दिन निर्देशन दिनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार सम्पन्न राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक-२०८३ लाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न प्रहरी र नागरिकबीचको विश्वास तथा सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने बताउनुभएको हो ।
उहाँले अपराधको प्रवृत्ति र जोखिमको विश्लेषण गरी जोखिमआधारित प्रहरी परिचालन गर्ने तथा प्रमाणमुखी एवं प्रविधिको रणनीतिक उपयोगमा आधारित अपराध अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । विगतका घटना तथा अनुभवको पुनरावलोकन गर्दै सूचना संकलन र विश्लेषणका आधारमा एकीकृत सुरक्षा योजना बनाई सक्रियताका साथ कार्यसम्पादन गर्नुपर्ने उहाँको भनाइ थियो ।
प्रहरी महानिरीक्षक कार्कीले योग्यता तथा कार्यसम्पादनमा आधारित मानवस्रोत व्यवस्थापन, सुशासन, अनुशासन र आन्तरिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ । समीक्षा बैठकमा उठेका विषयलाई छलफलमा मात्र सीमित नराखी उपलब्धिलाई संस्थागत गर्न तथा कमीकमजोरी सुधार गर्दै केन्द्र र प्रदेशबीच कार्यसम्पादनमा एकरूपता कायम गर्नुपर्ने उहाँको भनाइ थियो ।
बैठकमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुले प्रहरी कार्य, अपराध अनुसन्धान, प्रहरी प्रशासन, मानवस्रोत व्यवस्थापन, वर्तमान सुरक्षा चुनौती तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
बैठकमा अपराध अनुसन्धानमा प्रविधिको प्रयोग, प्रहरी जनशक्तिको उचित व्यवस्थापन तथा क्षमता अभिवृद्धि, सुरक्षा चुनौतीको सामना र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल तथा अनुभव आदानप्रदान गरिएको थियो ।

















