इटहरी - युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीमा आगामी असोज १४ देखि २० गतेसम्म ‘सीप तथा रोजगार मेला–२०८३’ आयोजना हुने भएको छ।
‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने नारासहित आयोजना हुने मेलामा उद्योग, सेवा, कृषि, निर्माणलगायत १० वटा विधाका ६५ वटा स्टल रहनेछन्। मेलामार्फत सीपयुक्त जनशक्ति र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।
यसैबीच, सुन्दरहरैँचा नगरपालिकाले नगर क्षेत्रका सीप तथा रोजगारीको खोजीमा रहेका युवा तथा रोजगारदातालाई मेलामा सहभागी हुन आग्रह गरेको छ। नगरपालिकाका रोजगार संयोजक दिनेश घिमिरेले मेलामा सहभागी भई उपलब्ध रोजगारी तथा सीप विकासका अवसरको सदुपयोग गर्न सुन्दरहरैँचाका युवा तथा रोजगारदातालाई आग्रह गरिएको जानकारी दिनुभयो।
मेलामा सहभागी हुन इच्छुकले मन्त्रालयले सञ्चालनमा ल्याएको jobfair.shramsansar.gov.np पोर्टलमार्फत रोजगारदाता तथा रोजगारी खोज्ने व्यक्तिबीच हुने ‘जब म्याचिङ’ प्रक्रियामा सहभागी हुन सक्नेछन्।


















