सर्लाही : पाँच वर्षभन्दा बढी समय वैदेशिक रोजगारीमा बिताए पनि महमद अकबर अन्सारीले विदेशबाट फर्किंदा हातमा सम्झनलायक उपलब्धि लिएर आउन सकेनन्। तर, गाउँ फर्किएर पुर्खाले गर्दै आएको व्यावसायिक तरकारीखेतीलाई रोजेपछि भने उनको जीवनको कथा फेरिएको छ।

हरिवन नगरपालिका–४ सासापुरका अन्सारी अहिले खेतमै भेटिन्छन्। चार दशक उमेर पार गर्दै गरेका उनी मङ्गलबार हरिवन–२ पाकरगाछी नजिकैको खेतमा गोलभेँडाको बेर्ना सार्ने तयारीमा व्यस्त थिए। यो वर्ष उनले सात बिघा खेतमा गोलभेँडा लगाउँदै छन्।

सात बिघामध्ये तीन बिघामा बेर्ना सारिसकिएको छ। थप दुई बिघाका लागि टनेलमा बेर्ना तयार छन् भने बाँकी दुई बिघाका लागि बीउ राख्ने काम भइरहेको छ। अधिकांश खेतमा उनले ‘कविता’ जातको गोलभेँडा लगाउँदै छन्।

“कविता जातको गोलभेँडाको बजारमा माग राम्रो छ, त्यसैले मलाई यही जात मन पर्छ,” अन्सारीले भने।

गोलभेँडाखेतीमा उनको आठ वर्षको अनुभव छ। जोखिमपूर्ण खेती मानिए पनि अहिलेसम्म लगानी डुबेको अनुभव नरहेको उनी बताउँछन्। बरु यही खेतीबाट परिवारको खर्च धान्नेदेखि घर निर्माण र जग्गा जोड्नेसम्मको आधार तयार भएको छ।

विदेशले दिएन, माटोले दियो

अन्सारी सन् २००९ को अन्त्यतिर रोजगारीका लागि पहिलोपटक कतार पुगेका थिए। करिब साढे चार वर्ष त्यहाँ बसेर फर्किए। गाउँमै रोजगारीको विकल्प नदेखेपछि फेरि विदेश जाने निर्णय गरे। दोस्रोपटक कृषि कामदारका रूपमा कतार पुगेका उनी एक वर्षमै स्वदेश फर्किनुप¥यो।


पाँच वर्षभन्दा बढी समय विदेशमा बिताउँदा ठूलो उपलब्धि हासिल गर्न नसकेपछि उनले आफ्नो बाटो परिवर्तन गरे।

“विदेशमा पाँच वर्षभन्दा बढी दुःख गरेँ, तर त्यसबाट कुनै ठूलो उपलब्धि भएन,” अन्सारीले भने, “त्यसपछि गाउँघरमै पितापुर्खाले गर्दै आएको व्यावसायिक तरकारीखेती गर्ने योजना बनाएँ। अहिलेसम्म राम्रो भइरहेको छ ।”

गोलभेँडासहित अन्य हरियो तरकारीखेती सुरु गरेपछि उनले विदेश फर्केर जाने सोचसमेत त्यागेका छन्।

उनका चार सन्तान छन्। खेतीबाटै उनीहरूको पढाइ र घरखर्च चलिरहेको छ। जेठो छोरा भारतमा अध्ययनरत छन् भने अन्य तीन जना नेपालमै पढिरहेका छन्।

“चार सन्तान यसैको आम्दानीबाट पढाइरहेको छु,” उनले भने, “मेरो घरखर्च मात्रै महिनाको एक लाख रुपैयाँ जति हुन्छ। त्यसका लागि मेरो एकमात्र विकल्प यही खेतीकिसानी हो।”

१० बिघाबाट ७५ लाखको उत्पादन

अन्सारीसँग आफ्नै पाँच कट्ठा खेत मात्रै छ। व्यावसायिक खेती विस्तार गर्न उनले हरेक वर्ष जग्गा ठेक्कामा लिने गरेका छन्। प्रतिविघा वार्षिक ६० हजार रुपैयाँ भाडा तिर्नुपर्छ।

वर्षायाममा मकै र त्यसपछि गोलभेँडा तथा अन्य हरियो तरकारी लगाउने उनको नियमित चक्र हो।

गत वर्ष उनले १० बिघा क्षेत्रफलमा गोलभेँडाखेती गरेका थिए। त्यसबाट ७५ लाख रुपैयाँभन्दा बढीको उत्पादन भएको उनको भनाइ छ। बीउ, मलखाद, जग्गा भाडा, मजदुरीलगायत खर्च कटाएर ५० लाख रुपैयाँभन्दा बढी मुनाफा भएको उनले बताए।

त्यही आम्दानीबाट घरमा एक तला थपेका छन्। दुई कट्ठा १० धुर घडेरीसमेत जोडेका छन्।

“खेतीमा मिहिनेत धेरै छ, तर दुःखअनुसारको आम्दानी पनि छ,” अन्सारीले भने।

एउटै खेती, फरक–फरक समयमा उत्पादन

गोलभेँडा खेतीमा मौसम र बजार मूल्यको जोखिम उच्च हुन्छ। यही जोखिम कम गर्न अन्सारीले एउटै समयमा सबै खेतमा गोलभेँडा लगाउँदैनन्।

भदौदेखि बेर्ना तयार गर्न थाल्ने उनले २५ देखि ३० दिनको भएपछि खेतमा सार्छन्। त्यसको ३० देखि ४५ दिनपछि उत्पादन सुरु हुन्छ।

उनले १० देखि १५ दिनको अन्तरमा तीनदेखि चार चरणमा गोलभेँडा रोप्ने गरेका छन्। यसले उत्पादनको समय फरक पार्नुका साथै बजार मूल्य र मौसमको जोखिमसमेत घटाउने उनको अनुभव छ।

“एकैपटक सबै लगाउँदा मौसम बिग्रियो वा बजार मूल्य घट्यो भने सबै खेतीमा असर पर्छ,” उनले भने, “तर फरक–फरक समयमा लगाउँदा एउटा लटमा समस्या भए अर्कोबाट जोखिम धान्न सकिन्छ।”

मुख्य सिजनलाई छल्दै उत्पादन बजारमा पुर्‍याउने भएकाले पनि आफूले राम्रो मूल्य पाउने गरेको उनको अनुभव छ।

भारतबाट आयात रोकिँदा स्थानीय किसानलाई राहत

गोलभेँडा उत्पादनपछि तत्काल बिक्री गर्नुपर्ने हुन्छ। लामो समय भण्डारण गर्न नसकिने भएकाले किसानले बजार मूल्यको उतारचढावको जोखिम व्यहोर्नुपर्छ।

अन्सारीका अनुसार विगतमा नेपाल–भारत खुला सीमाका कारण भारतबाट ठूलो परिमाणमा गोलभेँडा भित्रिँदा स्थानीय किसान प्रभावित हुने गरेका थिए। गत वर्षदेखि भारतबाट गोलभेँडा आउने क्रम रोकिएपछि भने स्थानीय उत्पादनले तुलनात्मक रूपमा राम्रो मूल्य पाएको उनको भनाइ छ।

“गोलभेँडा छिट्टै बिग्रने भएकाले किसानले चाहेको मूल्य पाउन सधैँ सम्भव हुँदैन,” उनले भने, “भारतबाट आउने गोलभेँडाले स्थानीय उत्पादनको बजारमा असर गर्ने गरेको थियो। पछिल्लो समय भने स्थानीय उत्पादनले राम्रो मूल्य पाएको छ।”

परिवारमै ३० बिघाभन्दा बढी खेती

अन्सारीका लागि गोलभेँडाखेती नयाँ काम होइन। उनका बुबाले करिब ३५ वर्षदेखि गोलभेँडाखेती गर्दै आएका छन्।

अहिले उनका दाजुभाइ, काकालगायत परिवारका सदस्यले मात्रै ३० बिघाभन्दा बढी क्षेत्रफलमा गोलभेँडाखेती गरिरहेका छन्। पुस्तौँदेखि खेतीमा जोडिएको अनुभवलाई अन्सारीले आधुनिक व्यावसायिक अभ्याससँग जोड्दै आएका छन्।

उनका लागि खेती अब गुजारा चलाउने माध्यम मात्रै रहेन। विदेशको विकल्प खोज्दै गाउँ फर्किएका अन्सारीका लागि आफ्नै माटो आर्थिक आत्मनिर्भरताको आधार बनेको छ।

लगानी र उत्पादनबीच मौसमको चुनौती

हरिवन–२ का किसान मुखचन्द्र महतोका अनुसार उन्नत ‘कविता’ जातको गोलभेँडाको बीउ प्रतिप्याकेट एक हजारदेखि एक हजार एक सय रुपैयाँसम्म पर्छ। बेर्ना तयार पार्नेदेखि खेत तयारी र रोपाइँसम्म प्रतिकट्ठा १५ देखि २० हजार रुपैयाँसम्म खर्च हुने गर्छ।

मौसममा हुने फेरबदल, शीतलहरलगायत कारण खेतीको लागत बढ्ने जोखिम रहेको महतो बताउँछन्। रोप्ने समयमा आवश्यक मलखाद नपाउँदा किसानले महँगोमा खरिद गर्नुपर्ने अवस्था पनि रहेको उनको गुनासो छ।

दुई हजार हेक्टरमा गोलभेँडाखेती

नेपालमा व्यावसायिक गोलभेँडा उत्पादन हुने प्रमुख क्षेत्रमध्ये सर्लाहीको हरिवन र लालबन्दी क्षेत्र पर्छन्। यहाँ करिब दुई हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक गोलभेँडाखेती फैलिएको छ।

यस क्षेत्रबाट उत्पादित गोलभेँडा हेटौँडा, वीरगन्ज, जनकपुर, विराटनगर, बुटवल, भैरहवा, काठमाडौँ र पोखरालगायत देशका प्रमुख बजारमा पुग्ने गरेको छ। स्थानीय बजारसँगै सस उद्योगलगायतमा पनि यहाँको गोलभेँडा खपत हुन्छ।

स्थानीय कृषि थोक बजारको तथ्याङ्कअनुसार हरिवन र लालबन्दी क्षेत्रमा वार्षिक १५ हजारदेखि २४ हजार मेट्रिक टनसम्म गोलभेँडा उत्पादन हुने गरेको छ।

विदेशमा वर्षौँ पसिना बगाएर पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेका अन्सारीका लागि अहिले त्यही पसिना आफ्नै खेतमा बगिरहेको छ। फरक यति हो—पहिले पसिना परदेशी भूमिमा बग्थ्यो, अहिले आफ्नै माटोमा बग्छ। र, त्यही माटोले उनको परिवारको भविष्य धानिरहेको छ।