काठमाडौंः आजदेखि काठमाडौंमा शुरु १५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५ औं महाधिवेशन पार्टीको वर्तमान र भविष्यबारे गम्भीर छलफल र संवाद गर्ने थलो भएको बताएकी छन् ।


‘२००४ सालदेखि लोकतन्त्रका लागि संघर्ष गरेर इतिहास बनाएको नेपाली कांग्रेसको वर्तमान र भविष्यको चिन्ता गर्ने, संवाद गर्ने थलोको रूपमा यो महाधिवेशन हुन गइरहेको छ,’ उनले भनिन् ।


भुसालले महाधिवेशन केवल पद व्यवस्थापन र नेतृत्व चयनका लागि मात्रै नभएको बताइन् । कांग्रेसका नेता–कार्यकर्ता मात्रै नभई लोकतन्त्र र कांग्रेसमा विश्वास गर्ने सबैले पार्टीको अवस्थाबारे आत्मसमीक्षा गर्ने अवसरका रूपमा महाधिवेशनलाई लिनुपर्ने उनको भनाइ छ ।