काठमाडौंः पार्टीको १५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले राजनीति र लोकतन्त्रको सार्थकता जनताको जीवनस्तर सुधार र राष्ट्रको प्रतिष्ठासँग जोडिएको बताएका छन् ।
घिमिरेले लोकतन्त्रका नाममा प्राप्त अवसरभन्दा जनताका समस्या समाधान मुख्य भएको जिकिर गरे । लामो समयसम्म विभिन्न राजनीतिक दलहरूले देशको नेतृत्व गरे पनि जनतामा रहेको निराशा चिर्न नसकेको उनको भनाइ थियो ।
पार्टी संस्थापक बिपी कोइरालाको सपनालाई स्मरण गर्दै देशलाई समुन्नत र नेपाली जनतालाई सुखी बनाउनु नै पार्टीको मुख्य अभीष्ट हुनुपर्ने घिमिरेको भनाइ थियो । महामन्त्री घिमिरेले देशका प्रमुख राजनीतिक दलहरूका शीर्ष नेताहरूलाई साक्षी राख्दै राजनीतिको केन्द्रमा राष्ट्र र जनतालाई राखेर अगाडि बढ्न आग्रह गरे ।
घिमिरेले पार्टीको यो महाधिवेशनले नेतृत्वमा पुस्तान्तरणको प्रक्रियालाई सार्थकता दिने विश्वास व्यक्त गरे । शहीदहरूको बलिदानी र आन्दोलनका उपलब्धिहरूलाई जोगाउँदै आम नागरिकको भावना अनुसार पार्टीलाई अगाडि बढाउनुपर्ने चुनौती रहेको उनको भनाइ थियो ।

















