विराटनगरः दशैं, तिहार र छठलगायतका चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन मोरङमा १ हजार १४० जना प्रहरी परिचालन गरिएको छ ।
चाडपर्वको समयमा हुने चोरी, लुटपाट, ठगी, तस्करी, सीमा अपराध र सवारी दुर्घटनालगायतका सम्भावित जोखिम नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयले सोमबार सञ्चारकर्मीसँग छलफल तथा अन्तरक्रिया गर्दै चाडपर्व लक्षित सुरक्षा योजनाबारे जानकारी दिएको हो । भारतसँग खुला सीमा जोडिएको तथा कोशी प्रदेशको राजधानी विराटनगरसमेत रहेको मोरङमा चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।
परिचालित प्रहरीमध्ये जिल्ला प्रहरी कार्यालय तथा मातहतका इकाइमा कार्यरत १ हजार ९० जना र थप मद्दतका रूपमा मगाइएका ५० जना छन् । उनीहरूलाई जिल्लाका ३१७ भन्दा बढी स्थानमा मोबाइल गस्ती, पैदल गस्ती, पिकेट चेकिङ, क्विक रेस्पोन्स टिम (क्युआरटी), यात्रु सहायता कक्ष र सादा पोसाकमा निगरानीलगायतका काममा खटाइएको छ ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले चाडपर्वमा हुन सक्ने आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो । उहाँका अनुसार बजार, व्यापारिक प्रतिष्ठान, उद्योग, कलकारखाना, मठमन्दिर, धार्मिकस्थल, बैंक तथा वित्तीय संस्था, एटीएम बुथ, सुनचाँदी पसल र सार्वजनिकस्थलमा निगरानी बढाइएको छ ।
प्रहरीले प्रभावकारी गस्ती, सुरक्षा निगरानी, प्रविधिको प्रयोग र नागरिकसँगको सहकार्यबाट चाडपर्वलाई सुरक्षित, मर्यादित र उल्लासपूर्ण बनाउने लक्ष्य राखेको जनाएको छ ।
सरकारी कार्यालय लामो समय बन्द रहने अवस्थालाई ध्यानमा राखेर ती कार्यालयको सुरक्षासमेत विशेष प्राथमिकतामा राखिएको बताइएको छ । मानवीय चहलपहल बढी हुने स्थानमा विशेष प्रहरी टोली परिचालन गर्नुका साथै आपराधिक पृष्ठभूमिका व्यक्ति र शंकास्पद गतिविधिमाथि निगरानी बढाइएको जनाइएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जिल्लाका सबै क्षेत्रमा सुरक्षा चुनौती समान नहुने भएकाले स्थानको अवस्था र सम्भावित जोखिम विश्लेषण गरेर सुरक्षा योजना बनाइएको बताउनुभयो । उहाँका अनुसार विराटनगरका व्यस्त बजार, धार्मिकस्थल, यातायात केन्द्र, बैंक तथा वित्तीय संस्था र भारतसँग सीमा जोडिएका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
चाडपर्वका बेला मानिसको आवतजावत र आर्थिक कारोबार बढ्ने तथा घर र कार्यालय लामो समय खाली रहने भएकाले चोरी, लुटपाट र ठगीका घटना हुन सक्ने जोखिमलाई ध्यानमा राखेर नियमित गस्ती तथा निगरानीको व्यवस्था मिलाइएको कटवालले बताउनुभयो ।
प्रहरीले चोरी, पाकेटमारी, लुटपाट, डकैती, ठगी, धम्की, मानव बेचबिखन, लागुऔषध तथा हातहतियारको अवैध ओसारपसार र सीमा अपराध नियन्त्रणमा समेत निगरानी बढाएको छ । चाडपर्वको मौका छोपेर हुन सक्ने नक्कली नोट तथा वैदेशिक मुद्रा ठगी, यात्रु ठगी, जुवा–तास, लङ्गुरबुर्जा, पटका तथा आतिशबाजीको अवैध कारोबार र कालोबजारी नियन्त्रणलाई पनि प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ ।
सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँगको समन्वयमा संयुक्त जाँच तीव्र पारिएको जनाइएको छ । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने र झैझगडा गर्ने गतिविधिमाथि कडाइ गरिएको जनाइएको छ ।
राजमार्ग तथा व्यस्त सडकमा निगरानी बढाउनुका साथै यात्रुलाई सम्भावित ठगीबाट जोगाउन सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको प्रहरीले जनाएको छ । होटल, लज तथा रेस्टुरेन्टको नियमित चेकजाँच गर्ने र भिडभाडमा पाकेटमारी तथा चोरी हुन नदिन शंकास्पद व्यक्ति र सवारीसाधनमाथि निगरानी गर्ने काम भइरहेको जनाइएको छ ।
भारतसँग खुला सीमा जोडिएका कारण सीमा नाकाबाट हुने अवैध ओसारपसार तथा अन्य सीमा अपराध नियन्त्रणलाई पनि प्राथमिकता दिइएको जनाइएको छ । शंकास्पद व्यक्ति र सवारी साधनमाथि जाँच कडा पार्नुका साथै भारतीय सुरक्षा निकायसँग समन्वय र सहकार्य गरिने प्रहरीले जनाएको छ ।
महिला, बालबालिका, अशक्त र ज्येष्ठ नागरिकविरुद्ध हुन सक्ने अपराध रोकथाम तथा नियन्त्रणमा समेत प्रहरी चनाखो रहेको बताइएको छ । सम्भावित दुर्घटना र आपतकालीन अवस्थालाई ध्यानमा राखेर तत्काल घटनास्थल पुग्ने गरी प्रहरी तयारी अवस्थामा राखिएको छ भने आवश्यक समन्वयका लागि एम्बुलेन्स, दमकल र अस्पतालसँग सम्पर्क स्थापित गरिएको प्रहरीले जनाएको छ ।
चाडपर्वमा लामो समय घर खाली राखेर बाहिर जाने परिवारलाई घर तथा आसपासमा शंकास्पद गतिविधि देखिए प्रहरीलाई जानकारी गराउन प्रहरीले आग्रह गरेको छ । चोरी, ठगी वा अन्य आपराधिक गतिविधिको जोखिम देखिएमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।


















