मुगु । मुगुको खत्याड गाउँपालिकामा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक्काभेटर (स्काइभेटर) र त्यसका चालक पुरिएका छन् भने सह–चालक घाइते भएका छन् ।
खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा मुगु–रारा भित्री सडक खण्डको बेलीब्रिज जोड्ने नयाँ सडक कटिङ गर्ने क्रममा आज बिहान साढे ८ बजे माथिबाट एक्कासी सुक्खा पहिरो खसेको थियो ।
पहिरोमा परी बा ३ क ३२७६ नम्बरको एक्काभेटर र त्यसका चालक बझाङ घर भएका २४ वर्षीय बिमल बाग पुरिएका हुन् । पहिरोले एक्काभेटरसहित चालक पुरिएपछि खोजी तथा उद्धार कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा परी एक्काभेटरका सह–चालक सोरु गाउँपालिका–१ का २२ वर्षीय बिनय मल्ल घाइते भएका छन् । एक्काभेटर बाहिर बसेर माथिबाट ढुंगा खस्छ कि भनेर हेरिरहेको अवस्थामा माथिबाट खसेको ढुंगाले लागेर उनको हात र खुट्टामा चोट लागेको छ ।
घाइते मल्लको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी कुराकानी गर्न सक्ने स्थितिमा रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
घटनालगत्तै उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकी माझचौरबाट गरी १३ जनाको संयुक्त प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य गरिरहेको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय रातापानीबाट करिब सात किलोमिटर पूर्व र प्रहरी चौकी माझचौरबाट ११ किलोमिटर पश्चिम दूरीमा पर्दछ ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


















