विराटनगर । विभागीय टोली नेपाल आर्मीले विराटनगरमा सम्पन्न २६ औँ राष्ट्रिय आइटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ ।

आर्मीले १७ स्वर्णसहित कुल २८ पदक जित्दै प्रतियोगितामा पहिलो स्थान हासिल गरेको हो । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीका अनुसार आर्मीले १७ स्वर्ण, ६ रजत र ५ कास्य पदक जितेको हो ।

त्यस्तै, सशस्त्र प्रहरी बलले १० स्वर्ण, १० रजत र ६ कास्यसहित २६ पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ ।

लुम्बिनी प्रदेशले ५ स्वर्ण, ६ रजत र ८ कास्यसहित १९ पदक जितेर तेस्रो स्थान हासिल गरेको छ ।

बागमती प्रदेश २ स्वर्ण, ६ रजत र १० कास्यसहित १८ पदक प्राप्त गर्दै चौथो भएको छ ।

घरेलु टोली कोशी प्रदेश १ स्वर्ण, ५ रजत र ११ कास्यसहित १७ पदक जितेर पाँचौँ स्थानमा रहेको छ ।

मधेस, गण्डकी र कर्णाली प्रदेशले स्वर्ण पदक जित्न सकेनन् ।

गण्डकी प्रदेशले २ रजत र ९ कास्यसहित ११ पदक जितेको छ ।

कर्णाली प्रदेशले ६ र मधेस प्रदेशले ५ कास्य पदक जितेका छन् ।

सुदूरपश्चिम प्रदेश भने पदकविहीन रह्यो ।

व्यक्तिगततर्फ आर्मीका भीमबहादुर उत्कृष्ट पुरुष खेलाडी घोषित भए भने लुम्बिनीकी अपेक्षा श्रेष्ठ उत्कृष्ट महिला खेलाडी घोषित भइन् ।

आयोजक मोरङ जिल्ला आइटिएफ तेक्वान्दो संघका अनुसार प्रतियोगितामा १५३ जना खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए ।