काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानलाई ११३ रनले पराजित गरेको छ । नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ३९.६ ओभरमा १५० रनमै समेटियो ।
ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । नेपालका सन्दीप लामिछाने र नन्दन यादवले तीन–तीन विकेट लिए भने दीपेन्द्र सिंह ऐरीले दुई विकेट झारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो । रोहित पौडेलले ६१ र अर्जुन कुमालले ४० रन जोडे । करण केसीले १६ बलमा चार छक्का र एक चौकासहित अविजित ४० रन बनाए ।
यसअघि नेपालले लिग–२ अन्तर्गतको खेलमा क्यानडालाई २४ रनले हराएको थियो ।


















