विराटनगरः विराटनगर आँखा अस्पतालले एक वर्षमा ६ लाख ८८ हजार ४४६ जनाको आँखा परीक्षण गर्नुका साथै ६९ हजार ९३७ जनाको सफल शल्यक्रिया गरेको छ ।
अस्पतालको २० औँ वार्षिकोत्सवका अवसरमा सार्वजनिक वार्षिक प्रगति विवरणअनुसार उपचार सेवासँगै ग्रामीण क्षेत्रका बासिन्दा, बालबालिका र विपन्न समुदायसम्म आँखा स्वास्थ्य सेवा पुर्याउने कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ ।
अस्पतालले विद्यालयमा सञ्चालन गरेको आँखा परीक्षण कार्यक्रममार्फत् यस वर्ष २६९ विद्यालयका ४६ हजार ८३६ बालबालिकाको आँखा जाँच गरेको छ । परीक्षणका क्रममा दृष्टिसम्बन्धी समस्या देखिएका बालबालिकालाई निःशुल्क चस्मा र औषधि तथा सहुलियत दरमा शल्यक्रिया सेवा उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।
‘उज्यालो दृष्टि, उज्ज्वल भविष्य’ नारासहित आयोजित वार्षिकोत्सव समारोहका प्रमुख अतिथि प्रा. डा. चेतराज पन्तले सामान्य परीक्षणदेखि विशेषज्ञ उपचार र जटिल शल्यक्रियासम्मका सेवा विस्तार गरेर अस्पतालले पूर्वी नेपालमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।
विशिष्ट अतिथि सिबिएम युएसएकी प्रतिनिधि टेरेसा बैरडले आँखाका रोग समयमै पहिचान गरी दृष्टि गुम्ने जोखिम न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
आईएसओ ९००१ः२०१५ गुणस्तर प्रमाणपत्र प्राप्त अस्पतालमा बालमैत्री जाँच कक्ष, अपाङ्गतामैत्री पूर्वाधार, आधुनिक शल्यक्रिया कक्ष र कन्ट्याक्ट लेन्स उत्पादनलगायतका सुविधा छन् । अस्पतालले उपचार सेवाका अतिरिक्त स्नातकोत्तर आवासीय कार्यक्रम, दृष्टिविज्ञान तथा उपविशेषज्ञ फेलोसिपमार्फत् दक्ष जनशक्ति उत्पादनमा पनि काम गर्दै आएको छ ।
समारोहमा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. ललित अग्रवालले वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
लहान आँखा तथा कान उपचार प्रणालीका प्रमुख प्रशासक सुधीर ठाकुरले अस्पतालको इतिहास र डा. अल्ब्रेख्त हेनिङको योगदानबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष पद्मनारायण चौधरीले सेवाग्राहीको विश्वास र साझेदार संस्थाहरूको सहकार्य अस्पतालको सफलताको मुख्य आधार भएको बताउनुभएको थियो ।


















