इटहरी ।  आज विश्वभर अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यकासाथ संसारभर अक्टोबर १७ मा यो दिवस मनाइन्छ ।

सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ का दिनलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रूपमा मनाइँदै आएको छ ।संयुक्त राष्ट्र संघले खाना, नाना र छानाको अभावमा रहेका नागरिक गरिब हुन् भनी व्याख्या गरेको छ ।

दिगो विकासको लक्ष्यले पनि सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ । नेपाल सरकारले पनि यसका लागि थुप्रै कार्यक्रमहरू सञ्चालन गरेको छ ।

नेपाल सरकारले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्यसमेत राखेको छ । नेपालमा गरिबी निवारणको लागि संघ, प्रदेश तथा स्थानीय तहमा अर्बाैं रुपैयाँका फरकफरक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । तर, अपेक्षाकृत रुपमा नेपालमा गरिबी घट्न सकेको छैन ।