इटहरी । दशैंको समापनसँगै आजदेखि कात्तिक स्नान शुरु भएको छ ।
आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म स्नान गरी घरघरमा विशेष रुपमा विधि–विधान पुर्याएर गरिने तुलसी पूजा आजैदेखि प्रारम्भ भएको छ । यसरी कार्तिक स्नानको शुरुवात भएसँगै हरेक दिन सूर्योदय अघि नै तुलसीको पूजा गरिसक्नुपर्ने मान्यता छ ।
भगवान् विष्णुलाई समर्पण गरी बालिने आकाशदीप प्रज्ज्वलन पनि आजबाट शुरु हुन्छ । कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ ।
आज स्वयम्भू चैत्यमा महादीपदानसमेत गरिन्छ । मुख्यतया दुर्गा पक्षको समापनलाई दर्शाउने आजको दिनमा दुर्गाको लक्ष्मी स्वरुपको अर्चना गरिँदै जाग्राम गरेर भजनकीर्तन गर्दै मनाइन्छ ।


















