हलेसी । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा एक व्यक्तिले ससुराली पुगेर धारिलो हतियार प्रहार गर्दा श्रीमतीसहित चार जना घाइते भएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–३ आहालेका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुरालीमा पुगेर धारिलो हतियार प्रहार गर्दा घाइते भएका ४ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणबाट हलेसी तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया श्रीमती अन्जना राईको टाउकोको पछाडिको भागमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको छ ।

६२ वर्षीया सासु स्यामाउन राईको टाउको र दाहिने हातमा चोट लागेको छ । उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आक्रमणमा परी ससुरा नरेन्द्र राईको दाहिने हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ।

२५ वर्षीया साली तेनिना राईको टाउकोमा चोट लागेको छ । उनको अवस्था पनि गम्भीर रहेको जनाइएको छ ।

घाइते चारै जनाको नगर अस्पताल दुर्छिममा उपचार भइरहेको छ । हतियार प्रहार गर्ने नइन्द्रकुमार राईलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।