काठमाडौंः नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि काठमाडौंमा शुरु हुने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगितामा ८ टिम सहभागी छन् ।
प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन् ।
उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
एनपीएल तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । यसैगरी उपविजेताले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
एनपीएलको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मान्यता दिएको छ । यो संस्करणमा विदेशी स्टार खेलाडीहरूको समेत उल्लेख्य सहभागिता रहने भएको छ ।
यस प्रतियोगितामा नेपालमै पहिलो पटक डिसिजन रिभ्यु एसिस्ट (डीआरएस) को प्रयोग हुने भएको छ ।


















