इटहरी । नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन अखिल क्रान्तिकारीले देशै भरि एमसीसीको पक्ष विपक्षमा जनमत सङ्ग्रह गरेको छ ।
परिमार्जन विना एमसीसी पास गर्नु ठिक कि बेठिक हो भनेर आम सर्वसाधारणको मत सङ्कलन गरेकोमा एमसीसी पास गर्नु हुँदैन पास गर्नु बेठीक हो भन्ने मत ९७ प्रतिशतको हाराहारीमा खसेको पाइएको छ । सुनसरीको इटहरीमा ५५० मतमा गणना गर्दा ५३० मत एमसीसी पास गर्नु बेठीकमा खसेको थियो भने पास गर्नु ठिक हो भन्नेमा १३ मत खसेको र बाकी ७ मत बदर भएको पाइएको छ ।
पक्ष विपक्षमा आफ्नो मत राख्न नेकपा एमाले, नेपाली कांग्रेशमा आस्था राख्ने जनमत पनि आकर्षण भएको देखिएको थियो । नेपाली काँग्रेसका एक जना क्रियाशील सदस्यले माथिका नेताहरूले कार्यकर्ताको समेत भावनाको कदर हुने काम गर्न नसकेकोमा चिन्ता व्यक्त गरे र आफू पाटीको धारणा नमान्ने एमसीसीको विपक्षमा रहेको जानकारी गराए । त्यस्तै नेकपा एमालेका एक जना जिल्ला स्तरीय नेताले पनि एमसीसी पास हुनुहुँदैन भन्ने धारणा राखेका थिए । अखिल क्रान्तिकारीले आफ्नो सङ्गठन मार्फत गरेको यस सृजनात्मक आन्दोलनको चौतर्फी तारिफ भएको छ ।


















