काठमाडौं । पूजाआजादेखि भान्सा तथा शरीरको मालिससम्म तोरीको तेलको प्रयोग हुन्छ । तोरीको तेल स्वादका कारण धेरै व्यक्तिमाझ लोकप्रिय छ । तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट २१ प्रतिशत पोलीअनस्याचुरेटेड फ्याट र १२ प्रतिशत स्याचुरेटेड फ्याट पाइन्छ ।

एक चम्चा तोरीको तेलमा ०.८ ग्राम ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यस्तै, एक चम्चा तेलमा १२४ क्यालोरी पाइन्छ । जसमा १४ ग्राम फ्याट हुन्छ । यसले मानव शरीरमा धेरै प्रकारका फाइदाहरू पुर्‍याउने गर्दछ । तोरीको तेलको फाइदा यस्ता छन्

क्यान्सरमा उपयोगी : तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्व पाइन्छ । तोरीको तेलमा हुने लिनोलेनिक एसिड ओमेगा थ्रि फ्याटी एसिडमा परिवर्तन हुन्छ, जसले पेट तथा कोलोन क्यान्सर रोकथाम गर्छ ।

मुटुरोगका लागि लाभदायी: तोरीको तेलमा मोनोस्याचुरेटेड र पोलिअनस्याचुरेटेड फ्याटी एसिड प्रशस्त पाइन्छ । यसमा ओमेगा थ्री र ओमेगा सिक्स फ्याटी एसिड पनि हुन्छ । फ्याटी एसिडले मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्न मद्दत पुर्‍याउँछन् ।

शरीरका लागि फाइदा: तोरीको तेलले मसाज गर्दा रक्त सञ्चार प्रणाली, पसिनाका ग्रन्थीसहित पाचन प्रणालीमा समेत राम्रो फाइदा पुर्‍याउँछ । नवजात शिशुलाई तोरीको तेलले मसाज गर्दा शरीर बलियो बनाउने, स्वास्थ्य राम्रो हुने गर्दछ ।

चिसोमा उपयोगी : तोरीको तेलमा शरीरलाई तातो बनाउने तत्व हुन्छ, जसले श्वासप्रश्वास नलीलाई सफा पार्ने काम गर्छ । रुघामा तातो पानीमा जिरा र केही चम्चा तोरीको तेल हालेर बाफ लिदाँ रुघा निको हुन्छ र घाँटी सफा हुन्छ ।

बाहिरी दुखाइमा उपयोगी : तोरीको तेलले नियमित मसाज गर्दा शरीरमा रक्त सञ्चार बढाई शरीरका बाहिरी दुखाईलाई कम गर्छ । यसले जोर्नी दुख्ने र बाथको समस्याका लागि समेत उपयोगी हुन्छ । यसमा हुने ओमेगा थ्रि फ्याटी एसिडले बाथसम्बन्धी दुखाई कम गर्छ ।

यसका साथै तोरीको तेलले दम रोगका बिरामीलाई स्वास फेर्न सहज बनाउने, मष्तिष्कको कार्यक्षमता बढाउने, दाँत सेतो पार्ने, छाला स्वस्थ बनाउने, छाला सुख्खा हुन नदिने, कपाल झर्नबाट जोगाउने, कपाल फुल्न नदिने लगायतका फाइदा हुने गर्दछ ।