इटहरी । इटहरीको एपेक्स  अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएपछि अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ । इटहरी बरगाछीका साढे ३ वर्षिया बालक सन्देश शाहको मृत्यु अस्पतालको लापरबाहीले भएको आरोप लगाउँदै बालकको शव सडकमा राखेर पीडित र स्थानीयले प्रदर्शन गरेका छन् । पीडितको न्याय र अस्पताललाई कारबाहीको माग राख्दै बिहान देखि हाल सम्म सडक अवरोध गरिएको छ । पटक पटक स्थानीय आन्दोलनकारी र प्रहरी बिच झडप भइरहेको छ । झडपमा परि केही आन्दोलनकारी र प्रहरी सामान्य घाइते भएका छन् ।  आन्दोलनको क्रममा केही आन्दोलनकारीलाई प्रहरीले हिरासतमा समेत लिएको छ ।

प्रदर्शनपछि प्रहरी परिचालन गरिएको छ । मृतकका आफन्तले बच्चालाई धेरै पटक सिरिन्ज लगाइएपछि मृत्यु भएको आरोप लगाएका छन् ।बालकले  बेलुका केक र जुस सेवन गरेको र एक्कासी  बुधवार बिहानबाट बान्ता भएपछि सन्देशलाई एपेक्स हस्पिटल ल्याइएको थियो । डाक्टरले फुड पोइजनिङ्ग भएको भन्दै उपचार सुरु गरिएको बताएका थिए । तर बिहीबार बिहानै सन्देशको मृत्यु भएपछि परिवार विरोधमा उत्रिएको हो । बच्चाले बान्ता गरेपछि नर्सले डबल डोज सुई दिएपछि बच्चाको मृत्यु भएको मृतकका परिवारले बताएका छन्।

बच्चाको अवस्था थप जटिल बनेपछि हस्पिटलले राती २ बजे सन्देशलाई धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लान भनेका थिए । धरान लाने क्रममा बाटोमै बच्चाको मृत्यु भएको परिवारले जानकारी दिएको छ ।