इटहरी ।  विश्व रेबिजविरुद्धको दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ ।

यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रूपमा समेत मनाइन्छ । फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गर्नुभएको थियो ।

ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि विश्व रेबिजविरुद्धको दिवस मनाउन थालेको थियो । जसलाई विश्व स्वास्थ्य सङ्गठनले समर्थन गरेको थियो ।

नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । नेपालमा ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ ।

रेबिज एक घातक भाइरल सङ्क्रमण हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ । जुन छाडा कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बाघ, चितुवा र बिरालोजस्ता सङ्क्रमित जनावरको टोकाइबाट सर्छ । रेबिजबाट बच्नको लागि सम्भावित जोखिम पछि तुरुन्तै खोप लगाउनुपर्छ ।

रेबिजको सङ्क्रमणको लक्षण ज्वरो र टाउको दुखाइबाट शुरु हुन्छ । प्रकाश, पानी र हावादेखि डर लाग्ने हुन्छ । यसले पक्षघात र अन्ततः कोमामा समेत पुग्ने जोखिम हुन्छ । कुकुर वा बिरालोजस्ता जङ्गली जनावर वा घरपालुवा जनावरलाई छुँदा वा खुवाउँदा धेरै सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।

जनावरले टोक्ने बित्तिकै बगिरहेको धाराको पानीमा १५ मिनेटसम्म घाउ सफा गर्दा तत्काललाई लाभा पुग्ने र त्यसपछि चिकित्सकको सम्पर्कमा गई उपचार गर्नुपर्ने चिकित्सकको धारणा छ ।