इटहरी । इटहरीस्थित सुष्मा कलेजमा १२ कक्षामा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छन् । इटहरी ४ स्थित दिदी भिनाजुको घरमा बस्दै आएकी २१ वर्षीया श्रद्धा घिमिरेले सोमबार साँझ आत्महत्या गरेकी हुन् । 

उनी अध्ययनको लागि दिदी भिनाजुकोमा बस्दै आएकी थिइन् । दिदी भिनाजु बाहिर काममा गएको समय पारेर उनले कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी हुन् ।  
 
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार सोमबार ३/४ बजेको समयमा फोन गर्दा फोन रिसिभ नभएको र साँझ ५ बजेतिर कोठा खोल्दा नखोलिएपछि ढोका फोरेर हेर्दा उनी सलको पासो लगाएको अवस्थामा भेटिएकी थिइन् ।
  
मृतकको पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको डीएसपी खड्काले बताएका छन् ।

मृतकको मोबाइल जफत गरी अनुसन्धान थालेको डीएसपी खड्काले जनाए ।