विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । निगुरो टिप्न जाउँ भन्दै बेलबारी स्थित सिंहदेवी सामुदायिक वनभित्रको खोल्सामा लगेर बालिकालाई बेलबारीका २१ वर्षीय सन्तोष नेपालीले बलात्कार गरेको प्रहरीले जनाएको छ । 

उनका अनुसार गत सोमबार साँझ ५ बजेतिर बालिका बलात्कृत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बेलबारीस्थित दिदीको घर आएको बेलामा नेपाली र बालिकाको चिनजान भएको प्रहरीले जनाएको छ । 
 
बिहे गर्छु भन्दै बलात्कार गरेपछि नेपालीले बालिकालाई आफ्नो घर पनि लिएर गएका थिए । परिवारका सदस्यले अस्वीकार गर्दै विभिन्न धाकधम्की दिएर लखेटेपछि पीडित कानेपोखरी प्रहरीको शरणमा पुगेकी थिइन् । आफू असुरक्षित भएको भन्दै बालिका प्रहरीको शरणमा पुगेपछि बलात्कारको घटना बाहिरिएको हो । 

बलात्कार आरोपी नेपालीलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले सोमबार राति घरैबाट पक्राउ गरेको छ । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी श्रेष्ठले बताए ।