काठमाडौं । रुपन्देहीको ओमसतिया ४ बसन्तपुरस्थित भैरहवा-परासी बाइपास सडकमा गोली चल्दा एक जना घाइते भएका छन्।

ओमसतिया गाँउपालिका ४ बशन्तपुरस्थित भैरहवा-परासी बाइपास सडकमा आइतबार राति करिब ११ बजे तीर गोली लाग्दा बेलहियाका ३१ वर्षीय विकास गुरुङ घाइते भएका छन्।

उनको बायाँ कोखामा गोली लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले बताए। गुरुङको अहिले युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गुरुङले भैरहवा भन्सारमा पर्यटकका गाडीहरु छुटाउने लगायतका काम गर्दै आएको थिए। सिद्धार्थनगर नगरपालिका बेलहियामा जेठी श्रीमती बस्ने भएपनि कान्छी श्रीमतीसँग परासी बस्दै आएका गुरुङमाथि किन गोली प्रहार भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

गुरुङलाई गोली लाग्नु अघि बाइपास सडकमै घटनास्थल नजिकै रहेको होटल सिद्धार्थ कटेजमा चोरी भएको बताइएको छ। चोरी गरेर भाग्दै गरेकाले आफूलाई गोली हानेको गुरुङले प्रहरीलाई बयान दिएपनि प्रहरीले भने घटना शंकास्पद रहेको र अनुशन्धान सुरु गरेको जनाएको छ।