काठमाडौंः स्व. रामहरि कृष्ण मानन्धर स्मृति तेस्रो राष्ट्रिय र्यापिड तथा दोस्रो राष्ट्रिय ब्लिट्ज चेस च्याम्पियनसिप बैशाख १६ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।

आयोजकले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार बैशाख १८ गतेसम्म हुने प्रतियोगितामा र्यापिडतर्फ २ लाख र ब्लिट्ज खेलतर्फ १ लाख रुपैयाँ पुरस्कार राखिएको छ ।

हालका नेपाल च्याम्पियन एफएम रुपेश जैसवालसहित देशका उत्कृष्ट २ सय जना खेलाडीले प्रतियोगितामा भाग लिने जनाइएको छ ।

प्रतियोगितामा खुला विधातर्फ र्यापिडमा क्रमशः ३५, २५ र १५ हजार तथा महिलातर्फ १०, ७ र ५ हजार पुरस्कार राखिएको छ । ब्लिट्ल खेलमा खुलातर्फ १५, १० र ८ हजार र महिलातर्फ १०, ७ र ५ हजार पुरस्कार राखिएको छ । विभिन्न विधा तथा उमेर समूहअन्तर्गतका उत्कृष्ट महिला सिनियर (५५ वर्षमाथि) रेटिङ १८ सय र १६ सय भन्दा कम, अनरेटेड तथा जुनियर (यु १२, १४, १६) सहित ४४ जना खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।