काठमाडौं । भूटानमा भएको पाँचौं दक्षिण एसियाली किक बक्सिङ च्याम्पियनसिपमा सबै नेपाली खेलाडीले स्वर्ण जितेका छन्। टोली नेता सो क्योकुसिन कराते संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार नेपालबाट सहभागी भएका ६ जनाले नै स्वर्ण जितेका हुन्। 

सिवानी श्रेष्ठले खुला तौल समूहमा फाइनलमा भुटानकी खेलाडीलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण हात पारेको श्रेष्ठले बताए । यस्तै, उनी सम्पूर्ण महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधिसमेत हात पार्न सफल भएकी छन्।

भाद्र ४ र ५ गते भएको च्याम्पियनसिपमा ५४ केजी तौलमा स्वर्ण हात पारेका कविन देशारले सम्पूर्ण पुरुषतर्फ उत्कृष्ट खेलाडीको उपाधिसमेत जिते। यसैगरी ६० केजी तौलमा स्वर्ण हात पारेका भुवन हायुले च्याम्पियनसिपको अनुशासित खेलाडीको ट्रफीसमेत जिते।
 
६२ केजी तौलमा मुकेश लुईटेल, ६४ केजी तौलमा जय राम ब्लोन र ७२ केजी तौलमा दलबहादुर घलेले पनि स्वर्ण जितेका छन्। 

भुटानको फुएनसोलिगमा भएको च्याम्पियनसिप निन्जा स्पोर्टस् फेडेरेसन र इन्टरनेसनल स्पोर्टस् गेम्स फेडेरेसनको संयुक्त आयोजनामा भएको थियो। 

यस्तै आयोजकले नेपाललाई सम्मान गर्दै संघका अध्यक्ष राजकुमार श्रेष्ठलाई प्रमुख अतिथि बनाएको थियो। प्रशिक्षकमा जगत धामी र टिम व्यवस्थापकमा कसीकुमारी क्षत्री पनि टोलीसँग भूटान गएका थिए।