काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सको नेपाल प्रिमियर लिग (एनपिएल) मा १० खेलसम्म कायम रहेको अपराजित यात्रामा पूर्णविराम लागेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा काठमाडौं गोर्खाजले लुम्बिनीलाई ३६ रनले पराजित गर्दै उसको अपराजित यात्रामा ब्रेक लगाएको हो ।
काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमै अलआउट भएको हो ।
पहिलो ओभरदेखि नै विकेट गुमाउन थालेको लुम्बिनीले पावरप्लेभित्रै ६ विकेट गुमाएको थियो । पहिलो ६ ओभरमा टोलीले ३४ रन मात्रै बनाउन सकेको थियो । ओपनर डार्सी सर्ट ४ र आशिफ शेख १ रनमा आउट भएका थिए । निरोसन डिक्वेलाले ७ बलमा १४ रन बनाए पनि टिक्न सकेनन् भने कप्तान रोहितकुमार पौडेल खाता नखोली फर्किएका थिए । दिलीप नाथ र ग्रान्ट स्टेवार्ट पनि सस्तैमा आउट भएपछि लुम्बिनी २८ रनमा ६ विकेट गुमाएको दयनीय अवस्थामा पुगेको थियो ।
त्यसपछि सन्दीप जोराले इनिङ्स सम्हाल्ने प्रयास गर्दै ४५ बलमा ३ चौकासहित ४४ रन बनाएका थिए । रुबेन ट्रम्पलमेनले ११ र अभिषेक गौतमले १७ बलमा १६ रन बनाए । शेर मल्लले १५ बलमा १२ रन जोडे । जोराले आठौं विकेटका लागि गौतमसँग ४६ रनको साझेदारी गर्दै टोलीलाई केही आशा दिलाए पनि १४.४ ओभरमा गौतम आउट भएपछि लुम्बिनी पुनः दबाबमा गएको थियो ।
काठमाडौंका लागि जहानदाद खान सर्वाधिक सफल बलर बने । उनले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । करण केसीले २४ रन दिएर २ विकेट हात पारे । शहाब आलम, सन्तोष यादव, राशिद खान र शेहान अराचिगेले समान एकएक विकेट लिएका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो । काठमाडौंका लागि डेभिड वार्नरले ५० बलमा ९ चौका र एक छक्कासहित ६६ रन बनाएका थिए । साहिल पटेलले ३६ बलमा ३८ रन जोडे । यी दुईले पहिलो विकेटका लागि १३.१ ओभरमा १०४ रनको साझेदारी गरेका थिए।
यो हारसँगै लुम्बिनीको एनपीएलमा लगातार १० खेलसम्मको अपराजित यात्रा टुंगिएको छ । अघिल्लो संस्करणको समूह चरणका अन्तिम तीन खेल जितेको लुम्बिनीले फाइनलसमेत जित्दै उपाधि उचालेको थियो । यस सिजन पनि सुरुवाती चार खेलमध्ये तीनमा जित निकालेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।
एनपीएलमा आज भने कुनै पनि खेल समावेश छैनन् । भोलि २ वटा खेल सञ्चालन हुनेछन् ।

















