मानिसको जीवनमा कुनै पल यस्तो आउँछ कि त्यति बेला उसले गरेका एउटै क्रियाकलाप जीवन भरी नबिर्सने एउटा क्षण बनी दिन्छ । हो यस्तै एउटा क्षण मेरो जीवनको आज पनि मलाइ उति नै याद आइरहन्छ र आज पनि उति नै रमाइलो लाग्छ त्यो क्षण सम्झिदा । कुरा करिब ११/१२ वर्ष अगाडीको हो । म त्यति बेला त्यस्तै १५/१६ वर्षको थिए । त्यति बेला भर्खर फेसबुक चलाउने चलन आएको थियो । नक्कली फेसबुक आइडी बनाएर साथि भाइहरुलाई झुक्याउने चलन मौलाउँदै गरेको थियो । जस्तै पूर्वेली ठिटो, बाबाको प्यारी छोरी म, पूर्वेली कान्छी आदि नाममा फेसबुक आइडी बनाएर साथीभाइहरूलाई झुक्याउने गरिन्थ्यो । 

 
अहिलेको जस्तो प्रोफाइल हेरेर प्रमाणित गरेर चिनेको मान्छेलाई मात्र साथी बनाउनु पर्छ भन्ने ज्ञानको विकास भएको थिएन । त्यस्तै मैले पनि मेरो एक जना नजिकको साथीलाई झुक्याउन पूर्वेली कान्छी भन्ने एउटा फेसबुक आइडी बनाए । यहाँ साथीको नाम मैले खुलाइन यो विषय उसलाई पनि रमाइलो लाग्छ तर अरूले जिस्काउने डरले यो विषय नभन्नु भन्छ । मैले यहाँ साथीको नाम परिवर्तन गरेर नवीन राखिदिए । त्यो आइडीबाट मैले नवीनलाई फ्रेन्ड रिक्वेस्ट पठाए । ऊ पनि के कम हत्त पत्त एसेप्ट गरिहालो । मैले च्याट गर्न सुरु गरे । 

भर्खर किशोर अवस्थामा हिँडिरहेको नवीन त्यति बेला त्यस्तै १४/१५ वर्षको थियो । साथीको विपरीत लिङ्गी प्रति बढी नै आकर्षण थियो मैले पनि त्यो आकर्षणलाई सहजै बुझ्न सक्ने भएको थिए । आफ्नै साथीसँग कुरा गर्न मलाइ झन् के अप्ठ्यारो । गफ हुँदै जाँदा उसले मलाई मायाको प्रस्ताव राखो त्यति बेला मोबाइल डाटा सकिएकोले मैले जवाफ दिन पाइन उफ् उसको पूर्वेली कान्छीले मायाको प्रस्तावको जवाफ दिन पाइनन् । 

घर हाम्रो नजिकै थियो । भोलि पल्ट साथी मलाइ भेट्न आयो । सबै कुरा मलाइ नसुनाई कहिले उसको चित्त बुझ्दैन थियो । त्यो दिन झन् कसरी बुझोस् उसको कसैसँग माया बसेको थियो र मायाको प्रस्ताव पनि राखिसकेको थियो तर जवाफ आएको थिएन । उसको अनुहार बाटै सबै भाव प्रस्टै झल्किन्थ्यो । मलाई नझल्कियोस् पनि कसरी म स्वयम थिए । उसले सबै कुरा मलाइ सुनायो । अब के हुन्छ ? के गर्ने ? भनेर सल्ला पनि मैसँग मागिरहेको थियो तर मेरो मोबाइलमा ब्यालेन्स नभएकाले मैले केही भन्न सकिन सायद भरे बेलुका सम्म आउँछ होला भनिदिए । 

बेलुका सम्ममा मैले पनि ब्यालेन्स हाले अनि चौतारा तिर जुम भनेर नवीनलाई बोलाए । हाम्रो घर देखि थोरै पर बर पिपलको चौतारी थियो । चौतारी तिर जाने क्रममा त्यति बेलै पूर्वेली कान्छी आइडीबाट नवीनको प्रस्ताव स्विकार्दै साथीलाई आइ लभ यु टु भनेर म्यासेज पठाइदिए । अनि सोधिहाले के भयो केही रिप्लाई आयो ? उ निराश हुँदै अह अगि सम्म आएकै थिएन भन्छ । म पनि उत्सुक हुँदै कि बा आयो कि हेर त भन्दै हेर्न लगाउँछु । नभन्दै उसले हत्त पत्त हेर्न थाल्छ । मलाई केही भन्दैन उ खुसीले नाच्न थाल्छ मेरो काँदमा हात टेकेर उफ्रिन थाल्छ र भन्छ तिमि कस्तो लक्की यार तिमिले भन्ने बित्तिकै एसएमएस आयो हेर त भन्दै मेरो हातमा मोबाइल दिएर उ फेरी नाच्न थाल्छ । 

म आफ्नो हाँसोलाई रोक्दै उसलाई बधाई दिन थाल्छु र उसलाई खुसीयालीमा खाजा खुवाउन लगाउँछु त्यति बेलाको आलु चप । उसको खुसीको सीमा थिएन । त्यति बेला बिचरालाई माया भनेको के हो थाहा पनि थिएन । उ बोल्दै गरेको व्यक्तिको आकृति पनि उसले देखेको थिएन तर पनि उ संसार जितेको जति नै खुसी थियो । त्यो दिन उसको खुसीको लागि घरमा आएर पनि राति १ बजे सम्म पूर्वेली कान्छी बनेर बोलिराखे त्यतिकै निदाए । 

भोलि पल्ट बिहान सबै कुरा भन्ने निर्णय गरे । त्यहाँ भन्दा धेरै झुक्याउन ठिक लागेन । साथीलाई त्यसै गरी चौतारी तिर जुम भनेर बोलाए उ पनि हतारिएर आयो किनकि उसले मलाइ सुनाउन त्यो दिन धेरै कुरा बाँकी थियो । नहोस् पनि कसरी त्यो दिन झन् रात भरी च्याट गरेको थियो । सुनाउन सुरु गरिहालो के रोकिन्थ्यो उ । सबै बोलेका कुरा महसुस गरिगरी सुनाउँदै थियो मैले बिचैमा कुरा काटेर तिम्रो लागी एउटा सर्प्राइज छ । तिम्रो मोबाइल एक छिन देऊ त भनेर मागे । 

उसले पनि सुनाउँदै गरेको कुरा रोकेर मोबाइल मलाइ दियो । मैले उसको त्यो नोकिया मोबाइलमा त्यो पूर्वेली कान्छी आइडी लगइन गरिदिए र लु लाऊ तिम्रो गर्ल फ्रेण्ड भनेर मोबाइल हातमा दिए । उ अलमल्ल पर्छ एक छिन केही बुझ्दैन र सोध्छ यो आइडी कसरी थाहा भयो तिमिलाई रु म गुम्सिएको हाँसो बाहिर ल्याउँदै भन्छु पागल त्यो मेरै आइडी हो र तिमि मसँग बोलिराखेको थिएउ । मैले तिमिलाई झुक्याए । म हाँसो रोक्न सक्दिन । मैले साथी पनि हाँस्ने अपेक्षा लिएको थिए तर त्यसो हुन सकेन । उ रुँदै भन्न थालो यार अर्जुन यति सारो गर्नु हुँदैन थियो तिमिले । म कस्सम धेरै माया गर्न थालिसकेको थिए भन्दै मसँग रिसाउन थाल्यो । मैले पनि हाँस्दै भने म चाहिँ के कम माया गर्छु र तिमिलाई । उसको चित्त बुझ्दैन र उ केही दिन मसँग बोल्दैन । घर गएर पूर्वेली कान्छीलाई ब्लक गर्छ । मलाई पनि त्यति बेला निकै नराम्रो लाग्छ । आफूले नगर्नु पर्ने गल्ती गरेको महसुस हुन्छ । विषय जस्तो भए पनि मनोरञ्जनको लागि कसैको भावनासँग खेल्नु हुँदैन रहेछ भन्ने महसुस भएर होला त्यो पूर्वेली कान्छी त्यहाँ देखि कहिले पनि चलाइन । 

त्यो घटनाले यति बेला सम्म पनि मलाई त्यो उमेर समूहको मनोविज्ञान बुझ्न र आफू निकट रहेका बालबालिकालाई सतर्क राख्न सिकाएको छ । बाल मनोविज्ञानमा कस्ता कस्ता कुराले प्रभाव पारेको हुन्छ । कुनै आकृति विना छोरी मान्छेको नामबाटै जसरी नवीन बालक अवस्थामै एकोहोरियो त्यसै गरी यति बेलाको बढ्दो इन्टरनेटको प्रभावले अहिलेका बाल मनोविज्ञानमा कस्तो असर परिरहेको होला ? यो प्रश्नले मलाइ अझै पनि झस्काइरहेको हुन्छ । त्यो घटनाले मेरो जीवनमा एउटा ठुलै शिक्षा दिइरहेकै छ । मैले मेरा नजिकका भाई बहिनीहरूलाई जो किशोर अवस्थामा छन् तिनीहरूलाई मोबाइल भन्दा जानकारी मूलक किताबहरू बढ्ने बानीको विकास गराउन प्रेरित गर्ने गरेको छु । 

विना निगरानी इन्टरनेटको प्रयोगमा रोक लगाउन अभिभावकहरुलाई आग्रह गर्ने गरेको छु । त्यो घटना त्यतिमै सीमित रहेन । जुन सिमबाट मैले पूर्वेली कान्छी भन्ने आइडी खोलेको थिए संयोग बस त्यो सिम मैले नवीनकै काकीलाई उहाँको सिम हराएर दिएको थिए । त्यो घटना घटेको केही महिना पछि ढाँट्ने दिन अर्थात् एप्रील फस्टको कुरा हो । रमाइलोको लागि सबैले केही न केही ढाँट्नु पर्ने चलन थियो । त्यो दिन ३/४ जना साथी सँगै थिएउ त्यो दिन ढाँट्ने दिन भन्ने सबैलाई थाहा थियो । मैले फेरी ढाँट्नलाई त्यही साथी नवीन र त्यही विषय रोजे । कुरा बनाउन थालिहाले । नवीन तिमिलाई एउटा कुरा भन्नु थियो तर आज ढाँट्ने दिन भएकोले भोलि भन्छु आज तिमिले पत्याउँदैनौ कुरै त्यस्तै छ । मैले यति भने पछि उसले कर गरेर भन्न लगायो र मैले मौका पाउने बित्तिकै सुरु गरिहाले । तिमिलाई मैले दिएको पूर्वेली कान्छीको आइडी मेरो थिएन । 

त्यो तेतिबेला पूर्वेली कान्छीको घरमा तिमिसँग लभ परेको कुरा थाहा भएछ । उनले मलाइ रुँदै म्यासेज पढाएकी थी । मलाइ आइडी र पासवर्ड पठाउँदै यो नवीनलाई दिनु भनेकी थिइन । नवीनले मलाइ धेरै माया गर्छ अर्जुन दाई यति गरिदिनु यो मेरै आइडी भनेर नवीनलाई दिनु अनि मात्र नवीनले मलाइ भुल्न सक्छ नत्र बिछोड सहन सक्दैन । यति भनी मलाई कसम पनि खुवाइ अनि मात्र मैले तिमिलाई आइडी पासवर्ड दिएको हो । त्यो मेरो आइडी थिएन पूर्वेली कान्छीकै आइडी थियो । नपत्याए गएर तेस्को आइडीमा हेर । 

त्यहाँ त्यसको मोबाइल नम्बर पनि होला कल गरेर आफै बोल । यति भने पछि मेरो कुरा पत्याएर उ पूर्वेली कान्छी आइडीमा गएर मोबाइल नम्बर हेर्छ र तुरुन्तै डायल गरेर कुरा गर्न हतारिन्छ । कल जान्छ उताबाट हेल्लो आवाज आउँछ उ हत्तपत्त कल काट्छ र भन्छ अरे हो त यार छोरी मान्छेकै आवाज छ । जुन आवाज नवीनकै काकीको हुन्छ र फेरी कल गर्छ फेरी उताबाट आवाज आउँछ, हेल्लो यताबाट जवाफमा भन्छ हेल्लो को बोलेको ? उताबाट नम्र स्वरमा म तेरो आमा बोलेको भन्ने उत्तर आउँछ । आमा भने पछि यता नवीन रिसाउँछ र भन्छ म पनि तेरो बाउ बोलेको उताबाट फेरी जवाफ आउँछ नानी के भनेको तैँले ? उ हत्तपत्त कल काट्छ र भन्छ अरे यार यो त मेरो काकीको स्वर जस्तो छ त ? म हाँसो रोक्न सक्दिन म हासे पछि सबै हाँस्छन यो पटक सबै भन्दा धेरै नवीन नै हाँसिरहेको हुन्छ अनि हाँसो रोक्दै भन्छ अरे यार फेरी मलाई उल्लु बनाएउ है । सकिएन बा तिमिसँग बच्न । यो घटना सम्झिदा आज पनि म मेरो हाँसोलाइ रोक्न सक्दिन आज पनि भेट हुँदा यो विषयमा चर्चा भइरहन्छ नवीनसँग ।