काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरू गरेको छ।
 
क्यानले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि खेलाडी दर्ता सुरू गरेको हो। क्यानका अनुसार खेलाडी दर्ता अगस्टको ३१ तारिखसम्म मात्र रहनेछ।

खेलाडी दर्ताका लागि क्यानले विभिन्‍न चारवटा मापदण्ड तोकेको छ। खेलाडीले सन् २०१८ देखि नियमितरुपमा राष्ट्रिय खेलकुद, प्रधानमन्त्री कप (पीएम कप) तथा मेयर कप खेलेको हुनुपर्ने छ।
 
यस्तै, २०१८ देखि नेपालको यू-१९ टिमका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिज खेलेको हुनुपर्ने छ। २०१८ देखि सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिज खेलेका खेलाडीलाई प्राथमिकता दिइने छ।

साथै, सन् २०१८ देखि फ्रेन्चाइज लिग खेलेका खेलाडीलाई प्राथमिकता दिइने क्यानले जनाएको छ।