काठमाडौं । एसिया कप क्रिकेटमा अफगानिस्तानले विजय सुरुवात गरेको छ।

दुबईमा शनिबार भएको उद्घाटन खेलमा पाँच पटकको च्याम्पियन श्रीलंकालाई ८ विकेटले हराउँदै अफगानिस्तानले सुखद सुरुवात गरेको हो।

श्रीलंकाले दिएको १०६ रनको लक्ष्य अफगानिस्तानले १० ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो।

अफगानिस्तानका रहमान उल्लाह गुर्बाजले ४० रन बनाए। यस्तै हजरात उल्लाह जाजईले अविजित रहँदै ३७ रन जोड्दा इब्राहिम जार्डनले १५ रन बनाए। 

श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले एक विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले १९ ओभर ४ बलमा अलआउट हुँदै १०५ रन बनाएको थियो।

जितसँगै समूह बी को अफगानिस्तानले पहिलो खेलमै दुई अंक जोडेको छ। प्रतियोगितामा आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।