काठमाडौं । एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा अफगानिस्तानले लगातार दोस्रो जित हात पारेको छ । उसले समूह ‘बी’ अन्तर्गत गएरातिको खेलमा बंगलादेशलाई ७ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको हो ।
 
योसँगै अफगानिस्तानले समूह विजेताका रूपमा सुपर चारमा स्थान सुरक्षित गरेको छ । पहिलो खेलमा उसले श्रीलंकालाई ८ विकेटले हराएको थियो ।

१२८ रनको लक्ष्य अफगानिस्तानले १८.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । उसका लागि अविजित रहेका नजिबुल्लाह जाद्रनले ४३ र इब्राहिम  जद्रनले ४२ रनको योगदान दिए । हजरतुल्लाह जर्जाइंले २३ तथा रहमनुल्लाह गुर्बाजले ११ रन जोडे ।
 
बंगलादेशका लागि शाकिव अल हसन, मोसाद्देक हुसेन र मोहम्मद सैफुद्दिनले एकरएक विकेट लिए । त्यसअघि शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२७ रन बनायो ।

उसका लागि मोसाद्देक हुसेनले अविजित रहँदै सर्वाधिक ४८ रनको योगदान दिए । ३१ बलको सामना गरेका उनले ४ चौका र १ छक्का प्रहार गरे ।

महमुदुल्लाहले २५, अफिफ हुसेनले १२ र  कप्तान सकिब अल हसनले ११ रन जोडे । अफगानिस्तानका मुजिर उर रहमान र राशिद खानले ३/३ विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयो । 

योसँगै अफगानिस्तानले समूह चरणमा शतप्रतिशत जितका साथ २ खेलमा ४ जोड्दा बंगलादेशले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । बंगलादेशले समूह चरणको अन्तिम खेलमा भोलि श्रीलंकाको सामना गर्नेछ ।