काठमाडौँ । साफ यू १७ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोली शुक्रबार श्रीलंका प्रस्थान गरेको छ। 
 
च्याम्पियनसिपका लागि नेपाली टोली आज दिउँसो १ बजे त्यसतर्फ प्रस्थान गरेको हो। नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार बिदाई गरेको थियो। 
 
च्याम्पियसिपका लागि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बुधबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका थिए। 
 
साफ यू–१७ च्याम्पियनसिप भदौ २० देखि २९ गतेसम्म श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूह बी मा भारत र भुटान छन्। समूह ए मा आयोजक श्रीलंकासँगै मालदिभ्स र बंगलादेश छन्। 

नेपालले भदौ २२ मा भुटानसँग खेल्दै च्याम्पियसिपको सुरुवात गर्नेछ। समूह चरणको दोस्रो तथा अन्तिम खेलमा भदौ २४ गते भारतसँग खेल्ने तालिका छ। 

समूह चरणका खेलपछि शीर्ष २ मा रहने टोलीले अन्तिम ४ मा स्थान बनाउनेछन्। सेमिफाइनलका खेल भदौ २७ गते हुनेछ। फाइनलमा पुग्ने २ टोलीले भदौ २९ गते उपाधिका लािग भिड्नेछन्। 

साफ च्याम्पियनसिपपछि यही टोलीले सन् २०२३ मा हुने एएफसी यू–१७ एशिया कप छनोट खेल्ने एन्फाले जनाएको छ।