काठमाडौं । नेपालले केन्याविरुद्धको एकदिवसीय अभ्यास सिरिजमा क्लीन स्वीप गरेको छ । अन्तिम तथा तेस्रो खेलमा आज (सोमबार) केन्यालाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिज ३–० ले जितेको हो ।

२५६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४७.१ ओभरमा चार विकेटको क्षतिमा जित निकालेको हो । नेपालको जितमा अर्जुन साउद, आशिफ शेख र बसिर अहमदले अर्धशतक बनाए ।

अर्जुनले ५८ रन बनाए । त्यस्तै, आशिफले ४३ बलमा नौ चौका र दुई छक्कासहित ५६ रन बनाए । त्यस्तै, बसिरले ४९ बलमा सात चौकासहित ५२ रन बनाउँदै अविजित रहे । कप्तान रोहित कुमार पौडेल ४६ रनमा अविजित रहे । त्यस्तै, ज्ञानेन्द्र मल्लले ३३ रन बनाए ।

केन्याका विरज पटेलले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २५५ रन बनाएको थियो । केन्याका लागि कोलिन्स ओबुयाले सर्वाधिक ८४ रन बनाए । लुकासले ५९, सुखदीप सिंहले ३७, इमानुलएल बोन्डीले २३ र कप्तान शेम गोचेले १७ रन बनाए ।