काठमाडौं । महिला साफ च्याम्पियनसिपको छैटौं सस्करण आजबाट काठमाडौंमा शुरु हुँदैछ । आज हुने च्याम्पियनसिपको पहिलो खेलमा आयोजक नेपालले भुटानको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५ः३० बजे शुरु हुनेछ ।

नेपाल आज हुने खेलमा भुटानलाई हराउँदै साफ च्याम्पियनसिपमा सुखद शुरुवात गर्न चाहन्छ । हालसम्म चार पटक फाइनल खेलेको नेपाल भारतसँग पराजित हुँदै उपविजेतामै सिमित भएको थियो ।

हालसम्म भारतसँग भन्दा अन्य टोलीसँग प्रतियोगितामा पराजीत नभएको नेपालले भुटानलाई कमजोर भने मानेको छैन । भुटान दुई साता अगाडि नै नेपाल आएर प्रशिक्षण गरेको थियो । छैटौं सस्करणसम्म आइपुग्दा फाइनल पुग्न नसकेको भुटान नेपाललाई बलियो प्रतिस्पर्धा दिने सोचमा छ ।
 
नेपालले आज घरेलु मैदान दशरथ रंगशालामा पहिलो पटक आधिकारिक प्रतियोगिताको खेल खेल्दैछ । पछिल्लोपटक नेपालले दशरथ रंगशालामा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।  

यस्तै नेपाल आज नयाँ कप्तान एन्जिला तुम्बाप्पो सुब्बाको नेतृत्वमा मैदानमा उत्रिनेछ । नियमित कप्तान रेनुका नगरकोटीले प्रशिक्षणको दौरान चोट बोकेको कारण साफ गुमाएपछि अखिल नेपाल फूटबल संघ (एन्फा)ले एन्जिलालाई नेतृत्व सुम्पिएको हो ।