काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा अनुसन्धान प्रक्रिया अघि बढेको प्रहरीले बताएको छ । लामिछानेलाई पक्राउ गर्न पक्राउ पूर्जीका लागि प्रहरीले जिल्ला अदालत जाने तयारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार एक १७ वर्षीया किशोरीले लामिछानेविरुद्ध पटक–पटक बलात्कार गरेको आरोप लगाएकी हुन् । 

पीडित किशोरीका अभिभावकले मंगलबार महानगरीय प्रहरी वृत्त, गौशालामा जाहेरी दिएका थिए । जाहेरीमा लामिछानेले गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा लगेर त्यसको भोलिपल्ट गौशाला क्षेत्रमा रहेको एक होटेलमा लगी बलात्कार गरेको आरोप लगाइएको छ । प्रहरीले विज्ञप्ति निकाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बलात्कार गरेको विषयमा जाहेरी पर्न आएको जनाएको छ । पीडितको विस्तृत स्वास्थ्य परीक्षण गरिएको पनि प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी भरतबहादुर बोहराले जाहेरी अनुसन्धान अघि बढाइएको जानाकारी दिएका छन् ।

नेपाली टोलीको नेतृत्व गर्दै लामिछाने केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय श्रृंखला खेल्न भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गरेका थिए । किशोरीले आफूले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर बलात्कार गरेको आरोप लगाएकी हुन् । मुलुकी अपराध संहिताको दफा २१९ अनुसार कसुर पुष्टि भए लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ ।